काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको छ। उम्मेदवार बन्न चाहनेले निर्वाचन समितिले तोकेका आवश्यक कागजातसहित निर्धारित शुल्क बुझाएर मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताका क्रममा मनोनयनपत्र, प्रस्तावक र समर्थकको विवरण तथा उम्मेदवारी शुल्क बुझाएको प्रमाण लगायतका कागजात पेस गर्नुपर्नेछ। उम्मेदवारको योग्यता पुष्टि हुने आवश्यक प्रमाणसमेत मनोनयनपत्रसँगै बुझाउनुपर्ने व्यवस्था छ।
कांग्रेसको निर्वाचन निर्देशिका, २०८३ ले विभिन्न पदमा उम्मेदवार बन्न आवश्यक योग्यता र मनोनयनसम्बन्धी प्रक्रिया स्पष्ट गरेको छ। केन्द्रीय सभापतिका लागि कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने तथा केन्द्रीय पदाधिकारी र सदस्यका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्यता आवश्यक हुने व्यवस्था छ।
त्यसैगरी, सम्बन्धित पदका लागि आवश्यक निरन्तर क्रियाशील सदस्यता प्रमाणित भएको निस्सा पनि मनोनयनपत्रसँगै दाखिला गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। यस्तो प्रमाणित गर्ने जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव वा मुख्य सचिवका रूपमा काम गर्ने व्यक्तिलाई दिइएको छ।
यसपटक कांग्रेसको केन्द्रीय कार्यसमितिको आकारसमेत बढाइएको छ। संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिमा २९७ सदस्य रहनेछन् भने पदाधिकारीको संख्या पनि बढाइएको छ। नयाँ संरचनाअनुसार चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी फाराम वितरण तथा दर्ताका लागि राष्ट्रिय सभा गृहमा व्यवस्था गरेको छ। निर्धारित शुल्क बुझाएपछि उम्मेदवारहरूले मनोनयन फाराम प्राप्त गरी तोकिएको समयभित्र दर्ता गर्नुपर्नेछ।