विधि र पद्धतिलाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा लुइँटेलको उम्मेदवारी

4.2k Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा कुमार लुइँटेलले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीमा लुइँटेलको नाम समावेश भएको छ।

ओखलढुंगाका लुइँटेल विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा सक्रिय हुँदै आएका हुन्। उनले आफ्नो उम्मेदवारीलाई पार्टीभित्र पुस्तान्तरण, सांगठनिक रूपान्तरण तथा विधि र पद्धतिको सुदृढीकरणसँग जोडेर अघि सारेका छन्।

पार्टी सञ्चालनमा कार्यकर्ताको भूमिकालाई प्रभावकारी बनाउँदै संगठनलाई थप गतिशील बनाउनुपर्नेमा उनले जोड दिएका छन्। साथै, बदलिँदो समयअनुसार कांग्रेसलाई प्रविधिमैत्री र आधुनिक संगठनका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

लुइँटेलले पार्टीको संगठनलाई समयअनुकूल बनाउँदै कार्यकर्ताका आवाज र अपेक्षालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका लागि सहयोग, समर्थन र मतको आग्रहसमेत गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यका ४५ पदका लागि ९२ जनाको उम्मेदवारी परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन प्रक्रियापछि खुला केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा थप स्पष्ट हुनेछ।

सम्बन्धित समाचार