काठमाडौं। पशुपतिनाथ मन्दिरको मुख्य परिसरमा गैरहिन्दू प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ। पशुपति मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूविरुद्ध जाहेरी परेको हो।
प्रहरीका अनुसार केही दिनअघि प्रियंका र ओसीमले पशुपतिनाथ मन्दिर परिसरमा पुगेर भिडियो बनाएका थिए। उक्त भिडियोमा ओसीमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि विषय सामाजिक सञ्जालमा चर्चामा आएको थियो।
सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत यस विषयमा प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध जाहेरी दिएको बताइएको छ।
यसअघि अन्सारी दम्पतीले भिडियोमार्फत स्पष्टीकरण दिँदै आफूहरू मन्दिरको मूल ढोकाबाट भित्र प्रवेश गरे पनि मन्दिरको भित्री भागमा जान नदिई भर्याङबाट फर्काइएको बताएका थिए। प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र रहेको र श्रीमान्लाई पनि मन्दिर देखाउन आफू त्यहाँ गएको बताएकी छन्।
ओसीम अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्। उनी इटहरी–८ का स्थायी बासिन्दा हुन्।