विपद्को मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै नेपाल, आईपीयूमा प्रस्तावलाई दुईतिहाइ बहुमत

1.2k Shares

काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) महासभामा नेपालले प्रस्तुत गरेको आपत्कालीन प्रस्तावले आवश्यक दुईतिहाइ बहुमत प्राप्त गरेको छ।

प्रस्तावमाथि भएको मतदानमा पक्षमा ९०१, विपक्षमा ७८ र तटस्थ १४० मत परेको थियो। पक्ष र विपक्षमा परेको कुल ९७९ मतलाई आधार मान्दा दुईतिहाइ बहुमतका लागि ६५३ मत आवश्यक थियो। तर, प्रस्तावको पक्षमा ९०१ मत परेपछि नेपालले आवश्यक दुईतिहाइभन्दा बढी समर्थन प्राप्त गरेको हो।

नेपालले महासभामा प्रस्तुत गरेको प्रस्तावमार्फत पछिल्लो समय नेपालसहित हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका प्राकृतिक विपद्, बाढी, पहिरो तथा त्यसबाट उत्पन्न मानवीय संकटका विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाएको हो।

नेपालको प्रस्तावमाथि भएको मतदानमा ठूलो संख्यामा सदस्य राष्ट्र तथा प्रतिनिधिहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको हो। यससँगै नेपालले जलवायु परिवर्तन र त्यसका कारण उत्पन्न विपद्का विषयलाई अन्तर्राष्ट्रिय संसदीय मञ्चमा थप प्रभावकारी रूपमा उठाउने आधारसमेत बनेको छ।

नेपालका लागि यो निर्णय महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विशेषगरी जलवायुजन्य विपद्को जोखिम बढिरहेका बेला प्रभावित मुलुकका समस्या, क्षति तथा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतालाई विश्व समुदायसमक्ष पुर्‍याउन प्रस्तावले भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार