काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ। मतदानबाट आगामी कार्यकालका लागि पार्टीको नेतृत्व चयन गरिनेछ।
निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेको छ। यसअघि बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा ढिलाइ तथा आवश्यक प्राविधिक तयारी पूरा हुन नसक्दा स्थगित भएको थियो। तयारीमा ढिलाइ भएपछि मतदान शुक्रबार बिहानका लागि सारिएको हो।
महाधिवेशनमा सहभागी कुल ७ हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिदेखि विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि पनि विभिन्न समूहमा प्रतिस्पर्धा रहेको छ।
मतदानका लागि प्रतिनिधिहरूलाई तोकिएको मतदान केन्द्रमा उपस्थित भई आफ्नो परिचयपत्र र मतदाता सूचीको विवरण रुजु गराउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन समितिले मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना गरी परिणाम सार्वजनिक गर्ने जनाएको छ।
कांग्रेसको यस महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी कार्यकालमा पार्टीको संगठन विस्तार, आन्तरिक एकता र राजनीतिक रणनीतिलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।