जलविद्युत् क्षेत्रमा २१ अर्बको लगानी, दुई आयोजनाले पाए स्वीकृति

1.2k Shares

काठमाडौं । लगानी बोर्डले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ६८औँ बैठकले उक्त निर्णय गरेको हो।

 
बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ जलविद्युत् आयोजनाको लगानी स्वीकृत गरेको हो।

नार खोला आयोजनाको अनुमानित लागत १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ रहेको छ भने सानी भेरी–३ आयोजनाको लागत १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ रहेको छ। यी दुई आयोजनाको कुल लागत २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी छ।

 
बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ। त्यस्तै, ९०० मेगावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण कार्य परियोजना विकास सम्झौताअनुसार अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको छ।

लगानी बोर्डले स्वीकृत आयोजनाहरूको कार्यान्वयन सहज बनाउन तथा लगानीकर्तालाई प्रदान गरिने सेवा प्रभावकारी बनाउन कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनामा लगानी आकर्षित गर्ने र नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनालाई प्राथमिकता दिने निर्णय भएको छ। 

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावलगायत बोर्डका सदस्यहरू र उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

 
 
 
सम्बन्धित समाचार