नयाँदिल्ली । भारतको आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक तथा नेता अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। पार्टीका अन्य नेताहरूसँगै जन्तरमन्तरतर्फ मार्च गरिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नियन्त्रणमा परेपछि केजरीवालले भिडियो सन्देश जारी गर्दै देशका युवा जागिसकेको बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा तानाशाही भइरहेको आरोप लगाउँदै आफूहरू नडराउने बताएका छन्।
केजरीवालले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागसमेत दोहोर्याएका छन्। ‘अब ज्ञानेश कुमारले राजीनामा दिनैपर्छ। कथित मत चोरीलाई अब जनताले सहने छैनन्,’ उनले भिडियोमा भनेका छन्। सार्वजनिक भिडियोमा प्रहरीले उनलाई लिएर गएको देखिन्छ।
यसैबीच, आप नेता सौरभ भारद्वाजले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली प्रहरीले पार्टीका राष्ट्रिय संयोजक केजरीवालमाथि धकेलाधकेल गरेको आरोप लगाएका छन्।
प्रदर्शनका क्रममा केजरीवालसँगै राज्यसभा सांसद सञ्जय सिंह पनि देखिएका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आपका नेताहरू जन्तरमन्तरतर्फ अघि बढिरहेका बेला यो घटना भएको हो।
भारतमा मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियालाई लिएर विवाद जारी रहेका बेला आपले निर्वाचनसम्बन्धी विषय उठाउँदै प्रदर्शन गरेको हो।