राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन गर्ने निर्णय

988 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पार्टीले सुनारमाथि सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सार्वजनिक भएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिनका लागि निर्देशन दिएको हो।

पार्टीले जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक कारोबारजस्ता विषय गम्भीर र संवेदनशील रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा पार्टी दृढ रहेको जनाउँदै आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारिएको छ।

पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। छानबिन प्रक्रिया प्रभावित नहोस् र पार्टीको नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई छानबिन अवधिभर सार्वजनिक पदको हैसियतमा सहभागी हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित राज्यका निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जनाएको छ।

विज्ञप्तिमा ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने स्पष्ट पारिएको छ।

कानुन उल्लङ्घन वा पार्टीको आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिइने जनाउँदै रास्वपाले यस विषयमा सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहेको जनाएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा आरोपको सत्यतथ्य निष्पक्ष छानबिनबाट स्थापित हुनुपर्ने र अनुसन्धानका निष्कर्षका आधारमा आवश्यक निर्णय लिइने उल्लेख छ।846593141_1426170522952060_2889085165731570082_n.jpeg

सम्बन्धित समाचार