आईपीयू महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल आज स्वदेश फर्किँदै

1.2k Shares

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्। तान्जानियाको अरुसामा आयोजित महासभामा नेपालको प्रतिनिधित्व गरेका सभामुख अर्यालले स्वदेश फर्किएलगत्तै महासभामा नेपालको सहभागिता र छलफलका विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ।

सभामुखको सचिवालयका अनुसार अर्यालले आज दिउँसो पत्रकारहरूसँग भेटघाट गरी महासभामा भएका छलफल तथा नेपालको सहभागिताबारे जानकारी दिनेछन्। त्यसका लागि पत्रकारहरूलाई दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन अनुरोध गरिएको छ।

सभामुख अर्याल नेतृत्वको सात सदस्यीय नेपाली प्रतिनिधिमण्डल असोज १८ गते साँझ कतार एयरवेजको उडानमार्फत तान्जानियाको अरुसा प्रस्थान गरेको थियो।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य रविन महत्तो, राष्ट्रिय सभा सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत सहभागी थिए।

अन्तरव्यवस्थापिका संघको महासभा विश्वभरका संसद्हरूबीच संवाद, सहकार्य र अनुभव आदानप्रदान गर्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो। महासभामा विभिन्न मुलुकका संसदीय प्रतिनिधिहरूले साझा चासोका विषयमा छलफल गर्दै संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने गर्छन्।

नेपालको सहभागिता, महासभामा उठाइएका विषय तथा नेपाली प्रतिनिधिमण्डलको भूमिकाबारे सभामुख अर्यालले स्वदेश फर्किएपछि जानकारी गराउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार