विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, प्रदेशका साझा मुद्दामा छलफल हुने

820 Shares

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ सुरु भएको छ। सातै प्रदेशका सरकारबीच समन्वय, सहकार्य र संघीयता कार्यान्वयनका साझा विषयमा छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते सञ्चालन हुने सम्मेलनको संयुक्त उद्घाटन माउस क्लिकमार्फत गरिएको छ। सम्मेलनमा प्रदेश सरकारका प्रमुखहरू तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

सम्मेलनमा संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने, प्रदेशका संवैधानिक अधिकार कार्यान्वयन गर्ने, प्रदेशहरूबीच देखिएका साझा समस्या समाधान गर्ने तथा विकास निर्माणमा सहकार्य बढाउने विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी, प्रदेश सरकारको अधिकार र जिम्मेवारी, वित्तीय स्रोतको बाँडफाँट, कानुन निर्माणमा देखिएका जटिलता, विपद् व्यवस्थापन र अन्तरप्रदेशीय विकास साझेदारीका विषयलाई पनि छलफलमा प्राथमिकता दिइनेछ।

प्रदेशहरूबीच भएका सफल अभ्यास, उपलब्धि र अनुभव आदानप्रदान गर्दै साझा समस्या समाधानका उपाय पहिचान गर्ने सम्मेलनको उद्देश्य रहेको छ। छलफलबाट प्रदेशहरूको साझा धारणा र प्रतिबद्धता समेटिएको घोषणापत्र जारी गर्ने तयारीसमेत गरिएको छ।

सम्मेलनले संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्न तथा प्रदेश सरकारहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार