कांग्रेसको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

1.2k Shares

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा नेता जीवनबहादुर शाही निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रबाट शाही सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले पार्टीभित्र संगठन सुदृढीकरण, पिछडिएको क्षेत्रको प्रतिनिधित्व र अवसरबाट वञ्चित समुदायका मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन्।

शाहीले महाधिवेशनअघि सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा उम्मेदवारी घोषणा गर्दै पिछडिएको क्षेत्रका आवाजलाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले आफ्नो राजनीतिक अनुभव र संगठनप्रतिको योगदानलाई मूल्यांकन गरी आफूलाई विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका थिए।

यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि शाही यही समूहबाट सहमहामन्त्री पदमा प्रतिस्पर्धा गरेका थिए। तर, त्यसबेला उनी बद्री पाण्डेसँग पराजित भएका थिए।

यसपटकको जितसँगै शाहीले पार्टीको केन्द्रीय नेतृत्वमा सहमहामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन्। उनको निर्वाचित हुनुले पिछडिएको क्षेत्रको प्रतिनिधित्व र पार्टी संगठनमा उक्त क्षेत्रका मुद्दालाई थप प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई नयाँ नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक दिशा र आन्तरिक एकतालाई सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार