काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ। सुनारसँग सम्बन्धित सार्वजनिक भएका समाचार, श्रव्यसामग्री तथा विभिन्न प्रश्नका विषयमा पार्टीले छानबिन प्रक्रिया अघि बढाएको हो।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिअनुसार सुनारमाथि उठेका विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई आन्तरिक छानबिन गर्न निर्देशन दिइएको छ।
सञ्चारमाध्यममा सार्वजनिक भएका विवरण तथा श्रव्यसामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुग्ने व्यवहार, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप उठाइएका छन्। ती विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको रास्वपाले जनाएको छ।
पार्टीले छानबिन प्रक्रिया निष्पक्ष बनाउन र सार्वजनिक पदमा रहने व्यक्तिले पालना गर्नुपर्ने नैतिक मर्यादा कायम राख्न सुनारलाई छानबिनको निष्कर्ष नआएसम्म आफ्नो पदीय हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिएको छ।
रास्वपाले कानुनको शासन, सुशासन र सार्वजनिक जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै महिलामाथि हुने दुर्व्यवहार, पदीय आचरणविपरीतका गतिविधि तथा कानुन उल्लङ्घनका विषयमा शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पारेको छ।
त्यस्तै, सम्बन्धित राज्य निकायबाट हुने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ। कानुनभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै आरोप प्रमाणित भएमा राजनीतिक संरक्षण नदिने पार्टीको भनाइ छ।
सुनारमाथि उठेका आरोपको अन्तिम सत्यतथ्य भने छानबिन तथा सम्बन्धित अनुसन्धानबाट स्पष्ट हुनेछन्।