जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार वर्षका बालकसहित तीन घाइते

1k Shares

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जुनिचाँदे गाउँपालिका–३ स्यालाका ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्।

घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घाइते तीनै जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार