काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुंगाका कुमार लुइँटेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगा बाट कांग्रेसका उम्मेदवार बनेका लुइँटेल राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलसँग मात्र पाँच मतको अन्तरले पराजित भएका थिए।
कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि भएको महाधिवेशनमा लुइँटेलले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। उनी केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टीको केन्द्रीय राजनीतिमा उनको भूमिका थप विस्तार भएको छ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगा बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल १३ हजार ९५३ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका थिए। दुई उम्मेदवारबीचको मतान्तर पाँच मात्रै थियो।
निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि लुइँटेलले कांग्रेसको संगठनात्मक राजनीतिमा आफ्नो यात्रा अघि बढाएका छन्। पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुलाई उनको राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
२०३० साल असोजमा ओखलढुंगाको बलखुमा जन्मिएका लुइँटेलले २०४५ सालमा पद्मोदय हाइस्कुलको नेपाल विद्यार्थी संघ इकाइ समितिको सचिवबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि उनी विद्यार्थी संगठनका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय भए।
उनले २०५३ सालमा नेपाल विद्यार्थी संघ ओखलढुंगाको कोषाध्यक्ष तथा २०६३ सालमा संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए। २०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि उनी सक्रिय थिए। जनआन्दोलन परिचालन समितिको जिल्ला सचिवका रूपमा समेत उनले काम गरेका थिए।
२०६४ सालमा नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य र २०६५ सालमा सहसचिव बनेका लुइँटेल २०६८ सालदेखि निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहँदै आएका छन्। उनले विज्ञान तथा द्वन्द्व, शान्ति र विकास अध्ययनमा स्नातकोत्तर गरेका छन्।
ओखलढुंगामा लामो समयदेखि पार्टी संगठनमा सक्रिय लुइँटेलले केन्द्रीय सदस्यको जिम्मेवारीसँगै अब राष्ट्रिय तहमा पार्टीका गतिविधिमा सहभागी हुने अवसर पाएका छन्। कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने क्रममा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
पार्टीभित्र संगठनात्मक सुधार, विधि र पद्धतिको पालना तथा तल्लो तहका कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्ने विषयलाई उनले आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै आएका छन्।
संघीय निर्वाचनमा पाँच मतले प्रतिनिधिसभा सदस्य बन्नबाट चुकेका लुइँटेलका लागि कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनु राजनीतिक यात्राको नयाँ अध्याय बनेको छ।