काठमाडौं। प्राविधिक समस्या तथा सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ। दुवै देशका अधिकारीहरू सीमा नाका चाँडो सञ्चालनमा ल्याउन तथा प्रशासनिक समस्या समाधान गर्न वार्तामा जुटेका छन्।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार प्राविधिक समस्या र आवश्यक सुरक्षा सतर्कताका कारण सीमापार आवागमन अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिएका छन्। इरानी समाचार संस्था इरनाका अनुसार उनले दुवै देशका सम्बन्धित अधिकारीहरू समस्या समाधानका लागि नजिकबाट काम गरिरहेको बताएका छन्।
यसैबीच, पाकिस्तानले शुक्रबारदेखि गब्द–रिमदान र तफ्तानका आधिकारिक सीमा नाकामार्फत हुने व्यापार रोकेको छ। पाकिस्तानी समाचारपत्र डनका अनुसार वाणिज्य मन्त्रालयले अक्टोबर ३ मा जारी गरेको पुरानो आदेश खारेज गरी नयाँ आधिकारिक सूचना जारी गरेपछि व्यापार रोकिएको हो।
बलुचिस्तानका मुख्यमन्त्रीका सञ्चार तथा राजनीतिक मामिलासम्बन्धी सल्लाहकार शाहिद रिन्डले सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा व्यवस्था सुदृढ बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा प्रशासनलाई व्यवस्थित गर्नु रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट खबरमा विश्वास नगर्न आग्रह गर्दै सीमा बन्द गर्ने निर्णय सुरक्षा अवस्था र प्रशासनिक समस्यामा सुधार ल्याउने उद्देश्यले गरिएको स्पष्ट पारेका छन्।
रिन्डका अनुसार दुवै देशका उच्च अधिकारीहरू बाँकी प्रशासनिक समस्या समाधान गर्न वार्तामा छन्। सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा अवैध तस्करीका सञ्जाल नियन्त्रण गर्न समन्वित प्रणाली स्थापना गर्ने कामसमेत भइरहेको छ।
उनले हाल भइरहेको प्रगतिका आधारमा पाकिस्तान–इरान सीमा चाँडै पुनः सञ्चालनमा आउन सक्ने आशा व्यक्त गरेका छन्। यद्यपि, सीमा नाका पूर्ण रूपमा कहिलेदेखि खुल्ने भन्नेबारे औपचारिक मिति सार्वजनिक भएको छैन।