काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र साउदी अरबका लागि प्रस्तावित राजदूतमा अस्वीकृत गिरीबहादुर सुनारसँग सम्बन्धित घटनामा आफ्नो नाम जोडिएको भन्दै ओशो तपोवनले आपत्ति जनाएको छ। तपोवनले व्यक्तिगत विषय तथा घटनालाई संस्थासँग जोडेर समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र संस्थागत मर्यादाको सम्मान गर्न अनुरोध गरिएको छ। ध्यान, साधना र आध्यात्मिक सद्भावमा समर्पित संस्थालाई व्यक्तिका निजी विषय तथा विवादसँग जोड्नु उचित नहुने तपोवनको भनाइ छ।
खगेन्द्र सुनार र गिरीबहादुर सुनारको घाँटीमा देखिएको ओशोको लकेट तथा उनीहरूबीचको चिनजान, भेटघाटलगायतका विषय सार्वजनिक चर्चामा आएपछि ओशो तपोवनको नामसमेत जोडिएको थियो। त्यसपछि संस्थाको भूमिकालाई लिएर विभिन्न टिप्पणी हुन थालेका थिए।
यसै सन्दर्भमा तपोवनले संस्थामा आउने ओशो सन्यासी, साधक तथा प्रेमीहरूको व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘ओशो सन्यासी, साधक तथा प्रेमीहरूको व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्दै निजी जीवनमा हस्तक्षेप नगर्न तथा तपोवनसँग जोडेर व्यक्तिगत विषय, व्यवहार वा विवादलाई संस्थासँग जोड्नु उचित हुँदैन।’
प्राप्त विवरणअनुसार रास्वपा सांसद खगेन्द्र सुनारको ओशोबाट दीक्षित नाम स्वामी ध्यान आशिष हो भने साउदी अरबका लागि प्रस्तावित राजदूतमा सिफारिस भएर अस्वीकृत भएका गिरीबहादुर सुनारको दीक्षित नाम स्वामी ध्यान आकान्त हो।
तपोवनले व्यक्तिको निजी जीवन र व्यवहारलाई संस्थाको गतिविधिसँग जोडेर प्रस्तुत नगर्न आग्रह गर्दै संस्थाको मर्यादा र साधकहरूको गोपनीयता कायम राख्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ।