काठमाडौं। रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ। आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको र पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा तथा खानेपानीको पहुँचबाट वञ्चित भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
जेलेन्स्कीका अनुसार रुसले राजधानी किएभ र आसपासका क्षेत्रलाई लक्षित गरी १६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। आक्रमणमा २१ वर्षीया एक महिलाको मृत्यु भएको राजधानीका अधिकारीहरूले जनाएका छन्। यसपटकको आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको पनि जेलेन्स्कीले बताएका छन्।
पश्चिमा मुलुकबाट प्राप्त गुप्तचर सूचनाले युक्रेनलाई रुसी मिसाइल आक्रमणको सामना गर्न सहयोग गर्दै आएको थियो। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले किएभलाई गुप्तचर सूचना दिन बन्द नगरेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार यही धारणा दोहोर्याउँदै अघिल्लो रात भएको रुसी आक्रमणबारे आफूलाई जानकारी नभएको बताएका छन्।
यसैबीच, अमेरिकी कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवामा लगाइएका सीमितताले युक्रेनको ड्रोन सञ्चालनमा असर पारेको जेलेन्स्कीले बताएका छन्। अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीको अभावले पनि युक्रेनको सुरक्षा चुनौती थपिएको छ।
रुसी रक्षा मन्त्रालयले भने युक्रेनभित्रका विभिन्न सैन्य तथा औद्योगिक लक्ष्यमा ठूलो आक्रमण गरिएको जनाएको छ। मन्त्रालयका अनुसार डाटा सेन्टर, ड्रोन तथा क्रुज मिसाइलका पार्टपुर्जा भण्डारण गर्ने केन्द्र, औद्योगिक उत्पादन केन्द्र र मिसाइल भण्डारणसँग सम्बन्धित रेल डिपोलाई निशाना बनाइएको थियो।
युद्ध अन्त्यका लागि युक्रेनले कूटनीतिक प्रयास जारी राखेको जेलेन्स्कीले बताएका छन्। उनका अनुसार किएभले युद्धविरामका प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ। तर, रुसी आक्रमण र युद्ध लम्ब्याउने मस्कोको चाहनाका कारण शान्ति प्रयास सफल हुन नसकेको उनको भनाइ छ। ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्ने उद्देश्यले अघि सारिएको पछिल्लो युद्धविराम प्रयास पनि निष्कर्षमा पुग्न सकेन।
उता, युक्रेनले रुसको भित्री भूभागसम्म प्रहार गर्न सक्ने लामो दूरीका हतियार प्रयोग गर्दै तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइरहेको छ। आइतबार युक्रेनले रुसतर्फ एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको जनाएको छ। ती आक्रमणका कारण सेन्ट पिटर्सबर्गस्थित तेल निर्यात टर्मिनल र भण्डारण केन्द्रमा आगलागी भएको विवरण सार्वजनिक भएको छ।
पश्चिमा विश्लेषक तथा अधिकारीहरूका अनुसार युक्रेनलाई प्राप्त हुने विदेशी सहयोग कमजोर हुने समयसम्म पर्खेर सैन्य शक्तिको बलमा अघि बढ्न सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आकलन छ। युक्रेनमा भने अमेरिकी सहयोग घट्न सक्ने चिन्ता बढ्दै गएको छ। ऊर्जा पूर्वाधारमा जारी आक्रमण, हवाई प्रतिरक्षा प्रणालीको अभाव र विदेशी सहयोगबारेको अनिश्चितताले युक्रेनको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ।