काठमाडौं । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा खाना निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
विशेषगरी बढी चिल्लो र बोसोयुक्त मासुले केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढाउन सक्ने भएकाले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपान गर्नुपर्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले बताएका छन्।
उनका अनुसार पेटमा रहेको अम्ल घाँटीसम्म फर्किँदा घाँटी र छाती पोल्ने, घाँटीमा केही अड्किएजस्तो हुने तथा खसखस महसुस हुने समस्या देखिन सक्छ। यस्तो समस्या भएका व्यक्तिले चिल्लो र बोसोयुक्त मासु कम खानु उपयुक्त हुन्छ।
दसैँमा मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किने जोखिमप्रति पनि सचेत रहन चिकित्सकले आग्रह गरेका छन्। घाँटीमा मासु वा हड्डी अड्किएमा निल्न गाह्रो हुने, दुखाइ हुने र थुक निल्नसमेत समस्या आउन सक्छ। अड्किएको वस्तुले श्वासनलीमा अवरोध पुर्याएमा सास फेर्न कठिन हुने र ज्यानसमेत जोखिममा पर्न सक्ने डा. गुप्ताले बताएका छन्।
घाँटीमा मासु वा हड्डी अड्किएको शङ्का लागेमा औँला घाँटीभित्र हालेर निकाल्ने प्रयास गर्नु हुँदैन। त्यसैगरी भात, रोटी वा अन्य खानेकुरा निलेर अड्किएको वस्तुलाई तल धकेल्ने प्रयास गर्दा घाँटीमा थप चोट लाग्न सक्ने भएकाले त्यस्तो नगर्न चिकित्सकको सुझाव छ।
अड्किएको वस्तुका कारण निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था आएमा तत्काल अस्पताल जानुपर्छ। सास फेर्न, बोल्न वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था भएमा श्वासनलीमा अवरोध भएको हुन सक्ने भएकाले तुरुन्त आपत्कालीन सहायता लिन आवश्यक हुन्छ।
दसैँमा खानपान गर्दा आवश्यकताभन्दा बढी नखाने, आफूलाई समस्या बढाउने खानेकुराबाट जोगिने र पचाउन सहज हुने परिकार रोज्ने गर्नाले घाँटीसम्बन्धी असहजता कम गर्न सहयोग पुग्न सक्छ। चाडपर्वको रमाइलोसँगै स्वास्थ्यको ख्याल राख्नु पनि उत्तिकै आवश्यक छ।