मिराज ढुंगानाको चुनौती : ‘गिरफ्तार गर्ने भए दिउँसै गर्नुहोस्’

1k Shares

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले आफू र अन्य केही अभियन्तालाई पक्राउ गर्ने तयारी भइरहेको खबर आएको भन्दै सरकारलाई मध्यरातको सट्टा दिउँसै गिरफ्तार गर्न चुनौती दिएका छन्।

ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरूमाथि गिरफ्तारीको तयारी भइरहेको सूचना पाएको बताएका हुन्। उनले लेखेका छन्, ‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ।’

दसैँपछि ‘तेस्रो ध्रुव’ र जनविद्रोहपछि आवश्यक रहेको वास्तविक वैकल्पिक शक्तिको पक्षमा वकालत गर्ने उल्लेख गर्दै उनले सरकारलाई गिरफ्तारीको समयसमेत दसैँपछि र दिउँसो तय गर्न कटाक्षपूर्ण आग्रह गरेका छन्।

‘म तेस्रो ध्रुव र यो जनविद्रोहपछि चाहिएको वास्तविक वैकल्पिक शक्तिको वकालत दसैँपछि गर्छु, गिरफ्तार पनि दिनमा दिउँसो पारेर दसैँपछि गर्नुहोला सरकारलाई मेरो आग्रह,’ उनले लेखेका छन्।

यसअघि सरकारले पूर्वप्रधानमन्त्री, व्यापारी, पत्रकार तथा पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा पक्राउ गरेको घटनालाई सङ्केत गर्दै ढुंगानाले सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गरेका छन्।

‘आजकल देश राती मात्रै बन्दो रहेछ के गर्नु होला !’ उनले फेसबुकमा लेखेका छन्।

ढुंगानाको उक्त अभिव्यक्ति सरकारको गिरफ्तारी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक गरिएको टिप्पणीका रूपमा आएको छ। यद्यपि, उनलाई पक्राउ गर्ने तयारीबारे सरकार वा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको विवरण उपलब्ध छैन।

सम्बन्धित समाचार