काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको योगदान र त्यसले स्थापित गरेका राजनीतिक विचारलाई अवमूल्यन गरिए मुलुकमा पुनः नयाँ राजनीतिक परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी जागरण अभियान’ उद्घाटन गर्दै प्रचण्डले माओवादी आन्दोलनले नेपाली राजनीतिमा पुर्याएको योगदानलाई कम आँक्ने प्रयास भइरहेको बताएका हुन् ।
विचार, सिद्धान्त र बलिदानका आधारमा प्राप्त राजनीतिक उपलब्धिलाई कसैले पनि सहजै मेटाउन नसक्ने उनको भनाइ थियो । माओवादी आन्दोलनको सुरुवातदेखि गणतन्त्र स्थापनासम्मको यात्रालाई स्मरण गर्दै उनले जनयुद्धमा सानो सङ्ख्याबाट सुरु भएको आन्दोलन व्यापक जनसमर्थनसहित अघि बढेको उल्लेख गरे ।
“हामीले जनयुद्ध सुरु गर्दा जम्मा ६० जना थियौँ । त्यही सङ्ख्या बढ्दै ६ सय, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो । र, अन्ततः नेपाल गणतन्त्र बन्यो,” प्रचण्डले भने ।
माओवादी आन्दोलनको ऐतिहासिक भूमिका र त्यसले स्थापित गरेका मान्यतालाई बेवास्ता गर्न खोजिए त्यसको राजनीतिक प्रभाव देखिन सक्ने उनको भनाइ थियो । केही समयपछि मुलुकमा फेरि नयाँ परिस्थिति निर्माण हुने विश्वाससमेत उनले व्यक्त गरे ।
यसैबीच, प्रचण्डले नेकपा (एमाले)सँग राष्ट्रिय महत्त्वका विषयमा सहकार्य गर्न सकिने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारे । उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको दाबी गर्दै एमाले सुशासनको पक्षमा स्पष्ट रूपमा नदेखिएको आरोप लगाए । यी विषयले दुवै दलको राजनीतिक चरित्र फरक रहेको उनको भनाइ थियो ।
आफू नेतृत्वको राजनीतिक अभियानले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेको दाबी गर्दै प्रचण्डले संसद्का दुई ठूला दलबीच गठबन्धन बनेर आफूलाई सरकारबाट हटाइएको आरोप लगाए ।
लोकतान्त्रिक व्यवस्थामा संसद्का पहिलो र दोस्रो ठूला दल मिलेर सरकार सञ्चालन गर्नु संसदीय अभ्यासको मर्मविपरीत रहेको उनको टिप्पणी थियो ।