काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्न केन्द्रीय नेताहरूलाई विभिन्न क्षेत्रको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टी संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर नेताहरूलाई अभियानमा परिचालन गरिएको हो ।
नेकपाले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन गर्ने अभियानमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई गाउँ, वडा र टोलस्तरसम्म पुर्याउने लक्ष्य लिएको छ । अभियानका क्रममा जनताका समस्या, गुनासा र सुझाव संकलन गर्नुका साथै पार्टीको संगठनात्मक अवस्था र जनतासँगको सम्बन्धबारे समीक्षा गरिनेछ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको नेतृत्वमा अघि बढाइएको अभियानमा केन्द्रीय नेताहरूलाई विभिन्न जिल्ला तथा क्षेत्रमा खटाउने योजना छ ।
अभियानका क्रममा किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा अन्य समुदायसँग प्रत्यक्ष संवाद गरिने पार्टीले जनाएको छ । स्थानीय स्तरमा देखिएका समस्या पहिचान गरी सम्बन्धित सरकारी निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गर्ने र समाधानका लागि पहल गर्ने योजना पनि छ ।
त्यस्तै, पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, जनवर्गीय संगठनको व्यवस्थापन तथा पार्टीका तल्लो तहका कमिटीलाई सक्रिय बनाउने कामलाई अभियानसँग जोडिएको छ ।
नेकपाले राष्ट्रिय जागरण अभियानलाई संगठन विस्तारमा मात्रै सीमित नराखी आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारीसँग पनि जोडेको छ ।
अभियानका क्रममा विभिन्न राजनीतिक दलको अवस्था, जनाधार र प्रभावबारे अध्ययन गर्ने तथा जनताबाट प्राप्त सुझावका आधारमा आगामी राजनीतिक रणनीति बनाउने पार्टीको योजना छ ।
अभियान सम्पन्न भएपछि संकलित प्रतिवेदनको समीक्षा गरी आगामी कार्ययोजना तयार गरिने नेताहरूले बताएका छन् ।