मुस्ताङमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह, हिमपहिरोको जोखिम

897 Shares

मुस्ताङ । प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भन्दै मुस्ताङ प्रशासनले तीन दिन पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेका हुन्।

मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिमसमेत रहेकाले पर्यटक तथा स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार प्रतिकूल मौसमका कारण चिसो बढ्नुका साथै सडकमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।

कोरला नाकातर्फको यात्रा रोक्न आग्रह

लोमन्थाङ गाउँपालिकाले पनि प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै कोरला नाका तथा आसपासका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो हुने, सवारी दुर्घटना हुन सक्ने तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको बताएका छन्। उनले यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई कोरला नाकातर्फ सवारीसाधन नलैजान अनुरोध गरेका छन्।

मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा तथा सवारीसाधनको आवागमन स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको छ।

जोखिमयुक्त क्षेत्रमा नजान सुझाव

भारी हिमपात र हिमपहिरोले उच्च हिमाली क्षेत्रमा पदयात्रीको आवागमन जोखिमपूर्ण बनाउन सक्छ। प्रतिकूल मौसममा सडक अवरुद्ध हुने, यातायात सेवा प्रभावित हुने र उद्धारमा कठिनाइ उत्पन्न हुन सक्ने भएकाले पर्यटकले मौसमसम्बन्धी सूचना लिएर मात्रै यात्रा गर्नुपर्ने देखिएको छ।

प्रशासनले जारी गरेको सूचनालाई ध्यानमा राख्दै पदयात्री, पर्यटक, चालक तथा स्थानीय बासिन्दाले सावधानी अपनाउन आवश्यक छ। मौसमको अवस्था सामान्य नभएसम्म जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार