अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जितेको निर्वाचनमा धाँधली भएको हुन सक्ने दाबी गरेका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन्। यद्यपि, उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्पले निर्वाचन निष्पक्ष र विवादरहित हुनुपर्ने उल्लेख गर्दै ब्राजिलको चुनाव शंकास्पद देखिएको टिप्पणी गरेका थिए। उनले आफूले कुनै उम्मेदवारको पक्ष नलिएको बताए पनि निर्वाचनमा अनियमितता भएको हुन सक्ने आशंका व्यक्त गरेका हुन्।
ब्राजिलमा आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लुलाले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका थिए। फ्लाभियो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्।
निर्वाचनको परिणाम सार्वजनिक भएपछि फ्लाभियोले सुरुमा नतिजा स्वीकार गर्न अस्वीकार गर्दै निर्वाचन रद्द गर्न माग गरेका थिए। मतदानको समय दुई घण्टा थप्ने सर्वोच्च अदालतको निर्णयप्रति प्रश्न उठाउँदै उनले परिणाममाथि आपत्ति जनाएका थिए।
तर, सोमबार फ्लाभियो आबद्ध लिबरल पार्टीले निर्वाचनको परिणाम स्वीकार गर्ने जनाएको छ। पार्टी प्रमुख भाल्देमार कोस्टा नेटोले परिणाम स्वीकार गरे पनि निर्वाचन प्रक्रियासँग सम्बन्धित प्रश्नहरूको उचित निरूपण हुनुपर्ने बताएका छन्।
रोयटर्सका अनुसार लुलाले फ्लाभियोलाई ४० लाखभन्दा बढी मतले पराजित गरेका हुन्। मतदानको समय थपिएको दुई घण्टामा ३५ हजारभन्दा कम मत खसेको थियो, जुन कुल मतको करिब ०.०३ प्रतिशत हो।
यस आधारमा मतदानको समय थपिएको विषयले मात्रै निर्वाचनको परिणाम उल्ट्याउन सक्ने सम्भावना निकै कम रहेको विश्लेषण गरिएको छ। यद्यपि, निर्वाचन प्रक्रियालाई लिएर राजनीतिक विवाद भने जारी रहेको छ।
ट्रम्पका पूर्वसहयोगी तथा ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएका थिए। त्यसबेला उनले पनि निर्वाचन परिणाम स्वीकार गरेका थिएनन्।
निर्वाचन परिणाम उल्ट्याएर सत्तामा रहिरहने षड्यन्त्र गरेको अभियोगमा ब्राजिलको सर्वोच्च अदालतले जाइरलाई २७ वर्षको जेल सजाय सुनाएको छ।
ल्याटिन अमेरिकी देशहरूमा दक्षिणपन्थी नेताहरूको राजनीतिक प्रभाव विस्तारलाई प्राथमिकता दिँदै आएको ट्रम्प प्रशासनका लागि ब्राजिलमा लुलाको जितले चुनौती थपेको विश्लेषण गरिएको छ।