काठमाडौंमा सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच द्विपक्षीय समन्वय बैठक सुरु

995 Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको दसौँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। सीमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गर्ने र दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो। 


बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौड्यालले गरेका छन् भने भारतीय पक्षको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्। बैठकमा दुवै देशका सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय तथा अन्य सरकारी निकायका प्रतिनिधिहरू सहभागी छन्। 


बैठकमा नेपाल–भारत खुला सीमाबाट हुन सक्ने मानव बेचबिखन, लागूऔषध तस्करी, अवैध व्यापार, भन्सार छली तथा अन्य सीमापार आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल हुने बताइएको छ। साथै, तेस्रो मुलुकका नागरिकको सीमापार आवागमनको निगरानी र सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्ने विषय पनि छलफलको कार्यसूचीमा छन्।

त्यसैगरी, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण, संयुक्त सीमा गस्ती, सीमावर्ती क्षेत्रमा सूचना आदानप्रदान र विपद् व्यवस्थापनमा सहकार्य बढाउने विषयमा पनि दुवै पक्षबीच छलफल हुनेछ। अघिल्ला बैठकमा भएका सहमतिको कार्यान्वयनको समीक्षा गर्दै आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने उपाय खोजिने जनाइएको छ। 


नेपाल र भारतबीचको खुला सीमाका कारण नागरिक तथा वस्तुको आवागमन सहज भए पनि त्यसको दुरुपयोगबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच नियमित समन्वय आवश्यक मानिँदै आएको छ।

तीन दिनसम्म सञ्चालन हुने बैठकले सीमा क्षेत्रमा देखिएका साझा सुरक्षा चुनौती सम्बोधन गर्न, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन र नेपाल–भारत सुरक्षा निकायबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार