इरानलाई पत्र पठाएको ट्रम्पद्वारा पुष्टि, औषधि र राहत सामग्रीबारे छलफल भएको दाबी

2k Shares

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई पत्र पठाएको विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्। ट्रम्पले पत्राचार भएको पुष्टि गर्दै त्यसको उद्देश्य इरानमा बिरामीका लागि आवश्यक औषधि तथा चिकित्सा सामग्री र अन्य राहत सामग्री पुर्‍याउने विषयसँग सम्बन्धित रहेको बताएका छन्।

वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारपछि प्रतिक्रिया दिँदै ट्रम्पले इरानमा आवश्यक सामग्री पुर्‍याउन सहयोग गर्ने विषयमा भान्सले आफूसँग राय मागेको बताएका हुन्। उनले बिरामीहरूलाई सहयोग गर्न राहत सामग्री पुर्‍याउनु मुख्य उद्देश्य रहेको उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार इरानमा औषधि तथा अन्य आवश्यक वस्तु पुर्‍याउन सहयोग गर्नुपर्ने विषयमा भान्सले आफ्नो धारणा मागेका थिए। त्यसमा आफूले सहयोग गर्न चाहेको अवस्थामा अघि बढ्न सकिने जवाफ दिएको ट्रम्पले बताएका छन्।

यसअघि वाल स्ट्रिट जर्नलले बुधबार अमेरिकी अधिकारी तथा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै उपराष्ट्रपति भान्सले इरानसँग शान्तिवार्ता पुनः सुरु गर्ने उद्देश्यले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईलाई पत्र पठाएको समाचार प्रकाशित गरेको थियो।

तर, भान्सबाट पत्र प्राप्त भएको विषयमा मोहसिन रेजाई वा इरानी विदेश मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यसैबीच, पछिल्लो एक सातामा वरिष्ठ क्षेत्रीय अधिकारीहरूको इरान भ्रमण बढेको समाचारमा उल्लेख छ।

यो घटनाक्रम सार्वजनिक भएको समयमा अमेरिका र इरानबीचको तनाव कायमै छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समय इरानविरुद्ध पुनः युद्ध सुरु गर्ने धम्की दिँदै आएका छन्। यस्तो परिस्थितिमा पत्राचारको विषय सार्वजनिक हुनुलाई दुई देशबीचको सम्भावित कूटनीतिक संवादसँग जोडेर हेरिएको छ।

सम्बन्धित समाचार