कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी

771 Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारी गरेको छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै पार्टीले आवश्यक कागजात र प्रक्रिया पूरा गरेर आयोग जाने तयारी थालेको हो।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अहिले आवश्यक कागजात संकलन तथा अन्य प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।

दुलालले सबै तयारी पूरा भएपछि आयोग जाने बताए पनि निश्चित मिति भने खुलाएका छैनन्। यद्यपि, सोमबारभित्र आयोग पुग्ने तयारी रहेको उनले संकेत गरेका छन्।

यसअघि बिहीबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो।

राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्य निर्वाचित भएपछि त्यससम्बन्धी विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने हुन्छ। सोही कानुनी प्रक्रियाअनुसार कांग्रेसले नयाँ कार्यसमितिको विवरण आयोगमा बुझाउन लागेको हो।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका थिए।

यसबीच कांग्रेसभित्र आधिकारिकताको विषयलाई लिएर विवादसमेत कायम छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी पुनरावलोकन प्रक्रिया पनि जारी रहेकाले विवादको अन्तिम टुंगो लाग्न बाँकी छ।

नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने प्रक्रिया अघि बढेसँगै कांग्रेसको संगठनात्मक तथा कानुनी गतिविधि थप अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार