विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री आचार्य

876 Shares

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन्।

शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विपद् व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेर लगानी गर्नुपर्नेमा जोड दिए।

उनले विपद्का घटनाबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वतयारी, आपसी समन्वय र जिम्मेवारीबोधलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। विपद् व्यवस्थापनका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी, संस्थागत तथा व्यावहारिक पक्षमा सुधार गर्नुपर्ने उनको भनाइ थियो।

स्थानीय तहसँग समन्वय गरेर योजना कार्यान्वयन गर्न निर्देशन

मुख्यमन्त्री आचार्यले विपद् व्यवस्थापनका योजना कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय तहसँग अनिवार्य रूपमा समन्वय गर्न निर्देशन दिएका छन्।

योजनाको काम सम्पन्न भएपछि भुक्तानी तथा फरफारक गर्नुअघि जिल्ला समन्वय समिति र सम्बन्धित स्थानीय तहबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन कानुनसमेत संशोधन गरिएको उल्लेख गर्दै आचार्यले सम्बन्धित निकायबीच समन्वय नगरी गरिने कामबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताए।

उनले विपद् व्यवस्थापनमा सबै तहका सरकार र सरोकारवाला निकायले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए।

विपद् आउनुअघि नै आवश्यक तयारी गर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने र उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउने विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

सम्बन्धित समाचार