काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले आगामी एक दशकभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने पार्टीको लक्ष्य रहेको बताएका छन्।
विराटनगरमा पार्टीका अगुवाहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै परियारले विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्य हासिल गर्न आफूहरू शपथ ग्रहणकै दिनदेखि निरन्तर काममा जुटिरहेको बताएका हुन्।
उनले जनतासामु गरेका प्रतिबद्धताअनुसार काम, परिणाम र सुशासन सुनिश्चित गर्नु पार्टी तथा सरकारको प्रमुख प्राथमिकता रहेको बताए। एक दशकभित्र आत्मनिर्भर र सम्मानजनक मध्यम आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने लक्ष्य सामान्य प्रयासबाट सम्भव नहुने उनको भनाइ थियो।
जनताका अपेक्षालाई परिणाममा बदल्ने प्रतिबद्धता
परियारले जनताको विकास, समृद्धि र सुशासनप्रतिको अपेक्षालाई व्यवहारमा रूपान्तरण गर्नु आफूहरूको प्रमुख जिम्मेवारी भएको बताए।
सरकार र पार्टीले जनतासामु गरेका प्रतिबद्धतालाई परिणाममा बदल्न इमानदार प्रयास गरिरहेको उल्लेख गर्दै उनले संसद्लाई जनताका सवाल उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रभावकारी थलोका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आफूहरू निरन्तर सिक्ने, कमजोरी सच्याउने र आत्मसुधारको प्रक्रियामा रहेको पनि उनले बताए।
मिडिया र नागरिक समाजलाई खबरदारी गर्न आग्रह
राजनीतिक दल तथा जनप्रतिनिधिले आफूलाई सधैँ सही ठान्न नहुने भन्दै परियारले जनताका प्रश्न, आलोचना र सुझावलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए।
रास्वपाका नेता, सांसद, मन्त्री तथा अन्य अगुवामा पद र शक्तिका कारण अहंकार बढ्न सक्ने सम्भावनाप्रति सचेत रहनुपर्ने उनको भनाइ थियो।
उनले पार्टी तथा सरकारका कामकारबाहीमा कमजोरी देखिएमा सञ्चारमाध्यम र नागरिक समाजले निरन्तर खबरदारी गर्न आग्रह गरे। गलत काम वा कार्यशैली देखिएमा प्रश्न उठाउन र रचनात्मक निगरानी गर्नुपर्नेमा उनले जोड दिएका छन्।
परियारले सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सरकारको प्रतिबद्धतासँगै जनताको निगरानी, आलोचना र सुझाव पनि आवश्यक रहेको बताएका छन्।