काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) मा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई करोडौँ रुपैयाँ हानिनोक्सानी पुर्याएको आरोपमा प्रहरीले तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थानमा भएको आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक ४५ वर्षीय संजीव झा रहेका छन्। त्यस्तै, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्ट पदमा कार्यरत ४६ वर्षीय विजयकुमार यादव पनि पक्राउ परेका छन्।
यसैगरी, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा कार्यरत ५५ वर्षीय मनहरी शर्मा, तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजना संकलन केन्द्रमा कार्यरत ४९ वर्षीय रामकेवल राय र हेटौँडास्थित बागमती धुलो दूध कारखानामा भरपाई पदमा कार्यरत २८ वर्षीय जितेन्द्रकुमार यादव पक्राउ परेका छन्।
पक्राउ पर्ने अन्यमा नवलपुर–गरुडा चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रमा दैनिक ज्यालादारीमा कार्यरत शिवनन्दन राय र माडी चिस्यान केन्द्रका इन्चार्जसमेत रहेका जुनियर टेक्निकल असिस्टेन्ट विखबहादुर भण्डारी रहेका छन्।
सिआईबीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूले पूर्वयोजनाअनुसार आपसी मिलेमतो गरी विभिन्न समूह खडा गरेर संगठित सञ्जालमार्फत संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी हानिनोक्सानी पुर्याएको खुलेको छ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ।
पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।