काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदी तथा थुनुवाको नाम, तस्बिर र विस्तृत विवरण सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाले फरार व्यक्तिहरूको पहिचान सार्वजनिक गर्दै उनीहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
गत शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो।
सार्वजनिक विवरणअनुसार फरार हुनेमा रुकुम पश्चिमका तीन, जाजरकोटका दुई, डोल्पाका दुई र सल्यानका एक जना रहेका छन्।
फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी र आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी रहेका छन्।
त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार पनि फरार भएका छन्।
यसैगरी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र वडा नम्बर ४ का २८ वर्षीय हरिबहादुर बुढा (धन बुढा) समेत फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार भएका आठ जनामध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरीसम्बन्धी मुद्दामा कारागारमा रहेका थिए। तीमध्ये दुई जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
यसरी खनेका थिए सुरुङ
प्रारम्भिक अनुसन्धानअनुसार कैदीबन्दीले आफूहरू सुत्ने कोठाबाट शौचालयको सेफ्टी ट्यांकी हुँदै कारागारबाहिर निस्कने गरी करिब चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेका थिए।
कारागारको सुत्ने कोठाको भुइँ कच्ची भएकाले माटो खनेर सुरुङ बनाउन सहज भएको अनुमान गरिएको छ। सुरुङ खन्न बेल्चा वा फरुवाजस्ता औजार प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ।
शुक्रबार साँझ साढे ५ बजे गरिएको गणनामा सबै कैदीबन्दी उपस्थित रहेका थिए। तर शनिबार बिहान ६ बजे गणना गर्दा आठ जना नभेटिएपछि कारागार प्रशासनले प्रहरीलाई खबर गरेको थियो।
खोजी कार्य तीव्र, सुरक्षा निगरानी बढाइयो
घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय डोल्पाले फरार कैदीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरेको छ। जिल्लाका विभिन्न नाका तथा चेकपोस्टमा निगरानी बढाउनुका साथै छिमेकी जिल्लाका प्रहरी कार्यालयलाई समेत जानकारी गराइएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र जिल्ला प्रहरी प्रमुख अनिलराज गिरीसहितको टोलीले घटनाबारे अनुसन्धान तथा खोजी कार्य अघि बढाएको छ।
कारागारबाट कैदीहरू कसरी सुरुङ खनेर बाहिरिए, सुरुङ खन्न प्रयोग भएका औजार कहाँबाट ल्याइयो र सुरक्षा व्यवस्थामा कहाँ कमजोरी भयो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले फरार व्यक्तिहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।