गोरखाका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री गुरुङ

918 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखाका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जिल्लाका स्थानीयवासीका माग, आवश्यकता र जनसरोकारका विषयलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताएका छन्।

गोरखाका नागरिकसँगको भेटघाट तथा छलफलका क्रममा गृहमन्त्री गुरुङले स्थानीयले उठाएका समस्याबारे चासो व्यक्त गर्दै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका हुन्।

गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र स्थानीय नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

१५ कात्तिकमा काठमाडौंमा आयोजित गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा सहभागीहरूले गोरखाको समग्र विकास, पूर्वाधार निर्माण, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

पूर्वाधार विकासमा पछाडि परेको गोरखाबारे चिन्ता

छलफलका क्रममा सहभागीहरूले गोरखामा पर्यटकीय सम्भावना पर्याप्त भए पनि त्यसको प्रवर्द्धन र विकासमा सरकारले अपेक्षित चासो नदिएको गुनासो गरेका थिए।

जिल्लाको समग्र विकासलाई गति दिन सडक, यातायातलगायत आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग थियो।

त्यस्तै, कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसानहरू समस्यामा परेको विषय पनि उठाइएको थियो। नेपाली किसानले उत्पादन गरेका तरकारी तथा कृषि उपजले बजारमा प्राथमिकता पाउनुपर्ने र स्थानीय उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले ठोस पहल गर्नुपर्ने सहभागीहरूको भनाइ थियो।

स्थानीय रोजगारी र उद्योग व्यवसायमा जोड

अन्तर्क्रियामा जिल्लाका उद्योगी तथा व्यवसायीहरूले उद्योग–व्यवसाय सञ्चालन गर्दा भोग्नुपरेका समस्या र व्यावसायिक वातावरण सुधारको आवश्यकताबारे पनि धारणा राखेका थिए।

गोरखामा उपलब्ध स्रोतसाधन र सम्भावनाको सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।

सहभागीका गुनासा र सुझाव सुनेपछि गृहमन्त्री गुरुङले गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्दै जिल्लावासीका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका थिए।

उनले जिल्लाको विकास र नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार