बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन्। आइतबार बिहान करिब ५ः४० बजे उद्योगभित्र फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो।
प्रहरीका अनुसार उद्योगमा रहेका २५ टन क्षमताका तीनवटा फलाम पगाल्ने भट्टीमा अचानक आगलागी भएको थियो। घटनामा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना कामदार घाइते भएका छन्।
आगलागीमा घाइते भएकाहरूलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइएको थियो। घाइतेमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। अन्य घाइते २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव तथा भारतको बहराइच जिल्लाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषादको अवस्था सामान्य रहेको बताइएको छ।
आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
आगो नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट उद्योगमा भएको भौतिक तथा अन्य क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।