उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, भोलि एकता घोषणा गरिने

1.6k Shares

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । दुई पार्टीबीच एकता गर्ने सहमति भएपछि भोलि (कात्तिक १६ गते) काठमाडौंको पेरिसडाँडास्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा एकता घोषणा कार्यक्रम आयोजना गरिने भएको हो ।

विप्लव नेतृत्वको नेकपाबाट अलग भएर उमा भुजेलले नेतृत्व गर्दै आएको समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेको हो । यससँगै नेपाली कम्युनिस्ट पार्टीले वामपन्थी शक्तिहरूबीच एकता र ध्रुवीकरणको अभियानलाई थप अघि बढाउने देखिएको छ ।

पेरिसडाँडामा एकता घोषणा कार्यक्रम

एकता घोषणाका लागि दुवै पक्षले आवश्यक तयारी अघि बढाएका छन् । भोलि हुने कार्यक्रममा दुवै पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले यसअघि पनि विभिन्न कम्युनिस्ट तथा वामपन्थी समूहसँग एकता, सहकार्य र ध्रुवीकरणका लागि छलफल गर्दै आएको थियो । पार्टीका प्रवक्ता प्रकाश ज्वालाले यसअघि उमा भुजेलले पुनर्गठन गरेको नेकपासँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका थिए ।

 

वामपन्थी एकताको प्रयास तीव्र

नेपाली कम्युनिस्ट पार्टीले विभिन्न कम्युनिस्ट घटकलाई एउटै राजनीतिक धारमा ल्याउने उद्देश्यसहित संवाद अघि बढाइरहेको छ । पार्टीले विचार, सिद्धान्त र राजनीतिक कार्यदिशामा समानता भएका समूहसँग एकता तथा सहकार्य गर्ने नीति लिएको छ ।

यसअघि पार्टीले देव गुरुङको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । समितिमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेका छन् । समितिलाई विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलसँग एकता र सहकार्यका विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको थियो ।

 

उमा भुजेल नेतृत्वको समूहसँग हुन लागेको एकतालाई नेपाली कम्युनिस्ट पार्टीले वामपन्थी शक्ति विस्तार तथा संगठन सुदृढीकरणको अर्को कदमका रूपमा अघि बढाउन खोजेको देखिन्छ ।

सम्बन्धित समाचार