एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : लिङ्देन

960 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा समग्र न्यायालयको समस्या समाधान नहुने बताएका छन् । न्यायपालिकामा देखिएका विकृति, विसङ्गति र बिचौलियाको प्रभाव अन्त्य गर्न व्यक्ति केन्द्रित कारबाहीभन्दा पनि समग्र न्याय प्रणालीमा सुधार आवश्यक रहेको उनको धारणा छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू र बिचौलियाबीच सम्पर्क तथा आर्थिक कारोबारसम्बन्धी विवरण सार्वजनिक भएपछि न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला लिङ्देनको यस्तो टिप्पणी आएको हो ।

न्यायालय सुधारका लागि संरचनागत परिवर्तन आवश्यक

लिङ्देनको भनाइ पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीश र बिचौलियाबीच सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि न्यायाधीशमाथि महाभियोग लगाउने बहस चलिरहेका बेला आएको हो ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विवाद समाधान गर्न संसदीय प्रक्रिया अघि बढाउन आफ्नो संसदीय दललाई निर्देशन दिएको छ । पार्टीभित्र सुरुमा न्यायाधीश हरिप्रसाद फुयालमाथि महाभियोगको प्रक्रिया अघि बढाउने र अनुसन्धानका क्रममा अन्य न्यायाधीशको नाम आए उनीहरूमाथि पनि प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको छ ।

 

न्यायालयको विश्वसनीयतामाथि प्रश्न

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाममा रकम जम्मा भएको विवरण र न्यायाधीश हरिप्रसाद फुयालसँग बिचौलिया इनम सापकोटाको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि न्यायपालिकाको निष्पक्षता र संस्थागत मर्यादामाथि प्रश्न उठेको छ ।

यस प्रकरणमा निष्पक्ष अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा आवश्यक कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । आरोप सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष राख्ने अवसरसहित कानुनी प्रक्रिया पूरा गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

 

न्यायालय सुधारको बहसमा लिङ्देनको भनाइले व्यक्ति विशेषमाथिको कारबाहीसँगै न्यायिक प्रणालीको समग्र सुधार र जवाफदेहिताको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ ।

सम्बन्धित समाचार