काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार स्वेच्छाचारी र निरंकुश शैलीमा अघि बढ्न खोजेको आरोप लगाएका छन्। उनले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि प्रश्न उठाएको बताएका छन्।
सरकारको कार्यशैलीबारे टिप्पणी गर्दै पौडेलले राज्यका केही व्यक्तिले आफूलाई नै राज्य ठान्ने र आफूले चाहेको कुरा नै कानुन हो भन्ने प्रवृत्ति देखिएको आरोप लगाए। उनले सरकारलाई संविधान र कानुनी व्यवस्थाभित्र रहेर काम गर्न आग्रह गरेका छन्।
पौडेलका अनुसार पछिल्लो समय सञ्चारमाध्यममाथि हस्तक्षेप, पत्रकार पक्राउ तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयासले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।
उनले समाचार संकलन र प्रकाशनकै विषयलाई लिएर सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। कुनै समाचार सामग्रीप्रति असहमति भए त्यसको निरूपणका लागि कानुनी प्रक्रिया हुँदाहुँदै प्रहरी परिचालन गरेर पत्रकारलाई नियन्त्रणमा लिनु उचित नभएको उनको भनाइ छ।
त्यस्तै, सरकारी कर्मचारीलाई कार्यस्थलबाटै पक्राउ गरी प्रधानमन्त्री कार्यालय पुर्याइएको घटनाप्रति पनि उनले आपत्ति जनाएका छन्। कर्मचारीले गल्ती गरेको भए प्रचलित कानुन र संस्थागत प्रक्रियाअनुसार अनुसन्धान तथा कारबाही हुनुपर्ने उनले बताएका छन्।
महामन्त्री पौडेलले सरकारका गलत कामको जिम्मेवारी सत्तारूढ दलले लिनुपर्ने धारणा राखेका छन्। सरकारका राम्रा कामको जस लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ छ।
उनले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्दै सरकारका गतिविधिको निगरानी गर्ने र लोकतन्त्र, नागरिक अधिकार तथा विधिको शासनको पक्षमा आवाज उठाइरहने बताएका छन्।
पौडेलले सरकारलाई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको सम्मान गर्दै स्वेच्छाचारी निर्णय सच्याउन आग्रह गरेका छन्।