महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे राजनीतिक दलहरूबीच छलफल भइरहेको बताएका छन्।
राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार गठनका विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए।
लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरू मधेस सरकारको स्थायित्वका लागि संवादमा रहेको बताउँदै उनले चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।
प्रचण्डले पार्टीको राष्ट्रिय जागरण अभियान संगठन सुदृढीकरणसँगै लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूबीच सहकार्य र समन्वय बढाउने उद्देश्यले सञ्चालन गरिएको बताए।
यसैबीच, बर्दिबासमा आयोजित अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला अध्यक्ष र संयोजकहरूको सहभागिता रहेको छ। कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी हुने जनाइएको छ।