काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुई पार्टीबीच एकीकरणको औपचारिक घोषणा मंगलबार गरिने तयारी गरिएको छ।
एकीकरण घोषणा कार्यक्रम मंगलबार दिउँसो १ बजे काठमाडौंको कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने जनाइएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएपछि उमा भुजेलको नेतृत्वमा छुट्टै राष्ट्रिय भेला आयोजना गरिएको थियो। उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा राजनीतिक ध्रुवीकरणलाई अघि बढाउने उद्देश्यसहित दुई पार्टीबीच एकीकरण हुन लागेको बताइएको छ।
एकीकरणपछि दुवै पक्षका नेता तथा कार्यकर्ता एउटै राजनीतिक संगठनमा आबद्ध हुनेछन्। यस घटनालाई नेपालको कम्युनिस्ट राजनीतिमा संगठनात्मक एकताको अर्को प्रयासका रूपमा हेरिएको छ।