सरिता लामिछानेले अमेरिकामा गरिन् देउसीभैलाे कार्यक्रम

1.3k Shares

काठमाडौं, १७ कात्तिक । लोकप्रिय अभिनेत्री सरिता लामिछानेले तिहार तथा छठ पर्वको अवसर पारेर अमेरिकाको ओहायो राज्यस्थित रेनल्सबर्गमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन्।

लामिछानेद्वारा सञ्चालित एभरेस्ट कला केन्द्र, युएसएको आयोजनामा वेलकम इभेन्ट सेन्टरमा सम्पन्न कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी–भैलो प्रस्तुत गरेका थिए। कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो।

करिब २५ वर्ष नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रमा बिताएकी लामिछानेले विदेशमा नेपाली कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सन् २०२५ मा कला केन्द्र स्थापना गरेकी हुन्। केन्द्रमा हाल सयभन्दा बढी बालिका नृत्य तथा सांस्कृतिक प्रशिक्षणमा सहभागी छन्।

उनले आगामी दिनमा नेपाली भाषा, अभिनय तथा व्यक्तित्व विकाससम्बन्धी कक्षा सञ्चालन गर्ने योजना पनि बनाएकी छन्।

कार्यक्रममा एनआरएनए एनसीसी अमेरिका ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यता रहेको थियो भने गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिएका थिए।

सम्बन्धित समाचार