काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित लोकदोहोरी गायक रामकुमार नेपालीले पद तथा जिम्मेवारीको पदस्थापना ग्रहण गरेका छन्।
काठमाडौंको टोखास्थित प्रतिष्ठानकै आफ्नै भवनमा आयोजित कार्यक्रममा नेपालीले पदस्थापना ग्रहण गरेका हुन्। प्रतिष्ठानको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले औपचारिक रूपमा पद तथा जिम्मेवारी सम्हालेका हुन्।
लोकदोहोरी क्षेत्रमा सक्रिय नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका थिए। निर्वाचनमा अत्यधिक मत प्राप्त गर्दै विजयी भएपछि उनी प्रतिष्ठानको केन्द्रीय नेतृत्वमा पुगेका हुन्।
नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाएका रामकुमार नेपाली गायनसँगै प्रतिष्ठानको संस्थागत गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। नेपाल लोक स्टारको उत्कृष्ट चारसम्म पुग्न सफल नेपालीले लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै परिचय स्थापित गरेका छन्।
पदस्थापना ग्रहणसँगै नेपालीले प्रतिष्ठानको जिम्मेवारी सम्हाल्दै लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र कलाकारको हकहितका लागि संस्थागत भूमिका निर्वाह गर्ने अवसर पाएका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नेपाली मौलिक लोकसंस्कृति, लोकगीत तथा दोहोरी गीतको संरक्षण र विकासका लागि काम गर्दै आएको छ। प्रतिष्ठानले कलाकारको हकहित, लोकसंगीतको प्रवर्द्धन तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
केन्द्रीय सदस्यमा निर्वाचित भई पदस्थापना ग्रहण गरेसँगै रामकुमार नेपालीको आगामी कार्यकाललाई लोकदोहोरी क्षेत्रका कलाकार तथा शुभेच्छुकहरूले चासोका साथ हेरेका छन्।