वैदेशिक अनुदानमा ठूलो गिरावट, सहुलियतपूर्ण ऋण लिनुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ

911 Shares

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्ति निकै कमजोर देखिएकाले विकास तथा अन्य सरकारी आवश्यकता पूरा गर्न सहुलियतपूर्ण ऋण लिनुपर्ने अवस्था आएको बताउनुभएको छ।

रसुवा बाढीबाट भएको क्षति तथा राहत र उद्धारका विषयमा गठित संसदीय विशेष समितिको बैठकमा बोल्दै उहाँले वैदेशिक अनुदानमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्नुभयो।

अर्थमन्त्री वाग्लेका अनुसार चालु आर्थिक वर्षमा ७ देखि ८ अर्ब रुपैयाँसम्म वैदेशिक अनुदान जुटाउनसमेत कठिन हुने अवस्था देखिएको छ। यस्तो परिस्थितिमा सहुलियतपूर्ण ऋणबाहेक अर्को प्रभावकारी विकल्प नरहेको उहाँको भनाइ छ।

उहाँले नेपालले एक दिनमा सङ्कलन गर्ने राजस्वसमेत विदेशी मुलुकले वर्षभरिमा उपलब्ध गराउने अनुदानभन्दा कम हुन थालेको उल्लेख गर्दै वैदेशिक सहायता घट्दै गएको अवस्थाले अर्थतन्त्रमा चुनौती थपेको बताउनुभयो।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरेको थियो। तर बजेट सार्वजनिक भएको पाँच महिनापछि गरिएको पछिल्लो प्रक्षेपणअनुसार अनुमानित अनुदानको करिब १० प्रतिशत हाराहारी मात्रै प्राप्त हुने देखिएको छ।

यसले सरकारको बजेट निर्माण र स्रोत व्यवस्थापनमा थप दबाब सिर्जना गरेको छ।

वैदेशिक अनुदानको अपेक्षित लक्ष्य पूरा नहुने अवस्था देखिएपछि सरकारले सहुलियतपूर्ण ऋणलाई वित्तीय स्रोतका रूपमा उपयोग गर्नुपर्ने परिस्थिति बनेको अर्थमन्त्रीको भनाइले संकेत गरेको छ।

सम्बन्धित समाचार