प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नयाँ रणनीति, कार्यान्वयन हुने सम्झौतामात्र गर्ने तयारी

722 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई यसअघिका प्रधानमन्त्रीहरूको भ्रमणभन्दा फरक र परिणाममुखी बनाउने तयारी गरिएको छ। भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणसँगै प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीले तीव्रता पाएको हो।

नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव मिश्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल र फलदायी बनाउन भारत सरकारले उच्चस्तरमा तयारी गरिरहेको जानकारी गराउनुभयो।

भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको थियो। नयाँ सरकार गठनपछि हुन लागेको प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक द्विपक्षीय राजकीय भ्रमण हुनेछ।

प्रधानमन्त्री शाह आगामी मङ्सिर दोस्रो साता भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। भ्रमणको औपचारिक मिति भने भारतीय विदेश सचिव स्वदेश फर्किएपछि तय हुने बताइएको छ।

तामझामभन्दा परिणाममा जोड

प्रधानमन्त्री शाहले विगतका भारत भ्रमणमा देखिने ठूलो सरकारी टोली, अनावश्यक खर्च र औपचारिकतालाई घटाउने नीति लिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

यसपटक भ्रमण टोलीका सदस्य छनोट प्रधानमन्त्री कार्यालयबाटै गर्ने तयारी छ। विगतमा परराष्ट्र मन्त्रालयले भ्रमण टोलीका सदस्य चयन गर्ने गरेको थियो।

त्यसैगरी, कार्यान्वयनको सुनिश्चितता नभएका सम्झौता र आयोजनामा हस्ताक्षर नगर्ने नीति प्रधानमन्त्रीले लिनुभएको छ। विगतका प्रतिबद्धता पूरा गर्ने र नयाँ सम्झौता गर्नुपर्ने भए कार्यान्वयन गर्न सकिने परियोजनालाई मात्र प्राथमिकता दिने तयारी गरिएको छ।

भोटेकोशी बाढीको पुनर्निर्माण मुख्य एजेन्डा

प्रधानमन्त्री शाहको भारत भ्रमणमा भोटेकोशी–त्रिशूली हिमबाढीबाट क्षतिग्रस्त संरचना तथा बस्तीको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोग माग्ने विषय प्रमुख एजेन्डाका रूपमा रहने भएको छ।

गत भदौ १० गते आएको विनाशकारी हिमबाढीपछि भारतले राहत सामग्री तथा उद्धार टोली पठाएर सहयोग गरेकोमा प्रधानमन्त्री शाहले भारतीय पक्षप्रति आभार व्यक्त गर्नुभएको थियो।

नेपालले बाढीबाट प्रभावित संरचना र बस्तीको पुनर्निर्माणका लागि भारतबाट ठूलो आर्थिक सहयोग अपेक्षा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

जनकपुर–अयोध्या रेलमार्ग सञ्चालनको तयारी

भेटवार्ताका क्रममा भारतीय विदेश सचिव मिश्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको थियो। बिहीबार उक्त रेलमार्गमा परीक्षणसमेत गरिएको बताइएको छ।

यसका अतिरिक्त नेपालमा भारतको सहयोगमा सञ्चालित परियोजना, भारतीय लगानी तथा द्विपक्षीय सहकार्यका विषयमा पनि छलफल भएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई केवल औपचारिक भेटघाटमा सीमित नराखी ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको तयारी देखिएको छ।

सम्बन्धित समाचार