राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गर्नु भएको हो । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यबिधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गर्नु भएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नु भएको जानकारी दिनु भयो।
सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुबै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा भने प्रमुख प्रतिपक्षी दलका नेताबिनै संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ ।