विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट मुलुकलाई बचाउन गरिएको लकडाउनका कारण संकटमा परेका विपन्न,गरीब परिवारलाई वितरण गरिनु पर्ने राहत सामग्री सर्लाहीमा अझैपनि वितरण नै हुन सकेको छैन । लकडाउन सूरु भएको ३८ औं दिन वित्न लाग्दा समेत जिल्लाका कतिपय स्थानीय निकायहरुले राहत वितरण नै गर्न सकेको छैन ।
कतिपय स्थानीय निकायहरुमा राहत वितरणमा विवाद हुँदा सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार समेत गर्नु परेको छ भने कुनै स्थानीय निकायहरुमा जनप्रतिनिधि माथि नै स्थानीयले आक्रमण गरेका छन् । रामनगर गाउँपालिका–४ मा राहत वितरण गर्ने क्रममा स्थानीयको भिडले वडा कार्यालयमा तोडफोड सहित जनप्रतिनिधिमाथि आक्रमण गरेका थिए । विवाद भएपछि उक्त वडामा हाल राहत वितरण रोकिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार बर्माले जानकारी दिनुभयो । त्यसैगरी ईश्वरपुर नगरपालिका–१५ गौरिशंकरमा केही दिनअघि राहत वितरणका क्रममा झडप भयो । वास्तविक विपन्न परिवार छुटेको तर नेता कार्यकर्ताका परिवार राहत पाउने लिष्टमा परेको भन्दै स्थानीयले वडाध्यक्ष सहितलाई आक्रमणको प्रयास गरेका थिए । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले २ सेल अश्रुग्याँस नै प्रहार गरेको थियो ।
कौडेना गाउँपालिकाकामा अहिलेसम्म राहत वितरण सुरु नै हुन सकेको छैन । वडाबाट विपन्न परिवारको लगत संकलनमा ढिलाई भएकाले राहत वितरणको काम नै सूरु गर्न नसकिएको गाउँपालिका अध्यक्ष रामप्रसाद राय यादवले जानकारी दिनु भयो । ‘खाद्यान्न खरिदका लागि टेण्डर लागिसकेको छ, अब एकदुई दिनभित्र एकसाथ सबै वडामा राहत वितरण सूरु गर्नेछौं ।’ गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । उक्त गाउ पालिकामा तीन हजार परिवारले राहत पाउने छन ।
बलरा नगरपालिकाकाका केही वडामा बाहेक अरु वडामा राहत वितरण हुन सकेको छैन । ११ वटा वडा रहेको बलरामा ३ नं. वडा बाहेक सबैमा नगद नै दिने तयारी भईरहेको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिनु भयो । ‘सबै वडालाई ३–३ लाखको दरले बजेट निकासा गरिएको र सबै वडाले त्यही ३ लाखलाई परिवार संख्या अनुसार दामासाही नगद नै दिने तयारी गरिरहेका छन् ।’ नगर प्रमुख सिंहले बताउनु भयो । नगरपालिकामा हालसम्म वडा नम्बर ३, ७, ९ र ११ मा राहत वितरण भईसकेको साथै २ र ४ नम्बर वडामा पनि दुई दिनभित्र राहत वितरण सूरु हुने नगर प्रमुख सिंहले बताउनु भयो ।
त्यस्तै बसबरिया गाउँपालिकामा पनि हालसम्म राहत वितरण हुन सकेको छैन । खाद्यान्न खरिदका लागि टेण्डर प्रकृया सकिएको र अब एक दुई दिनभित्र गाउँपालिका कार्यालयमा सामान आईपुग्ने बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले बताउनु भयो । त्यहाँ पनि वडा वडाबाट संकलन भएको लगत अनुसार तीनहजार घरधुरीलाई राहत वितरण गर्ने तयारी भएको छ ।