शंखर पहाडी(गौरब)
सर्लाहीको जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा मन्दिरा आचार्य विजयी भएकी छन् । शनिबार मलंगवामा भएको जिल्ला बचत तथा ऋण सहकारी संघको मतदानमा ३७ मत प्राप्त गर्दै आचार्य जिल्ला बचत संघको अध्यक्षमा निर्वाचित भएकी हुन् । सचिवमा सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनका अध्यक्ष केशव ढकाल निर्वाचित भएका छन् । ढकाल ३९ मत ल्याइ विजयी हुँदा प्रतिस्पर्धी तपेश्वर चौधरीले २४ मत मात्रै ल्याएका छन् ।
यस्तै,सदस्यहरुमा बेचुप्रसाद तिमल्सिना,चेतप्रसाद तिमल्सिना,भवानी घिमिरे,दिनेश्वर राय र पाचु महतो चयन भएका छन् । उपाध्यक्ष,कोषाध्यक्ष र लेखा समितिका दुई जना सदस्य भने यसअघि नै सर्वसम्मत चयन भइसकेका जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीले जनाएको छ ।
संघको उपाध्यक्षमा धनेश्वर महतो,कोषाध्यक्षमा लालबाबु महतो र लेखा समितिको सदस्यमा महादेव साह र ललितादेवी महतो सर्वसम्मत चयन भएका हुन । लेखा समितिको संयोजकमा भने भरत साह चयन भएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघमा जिल्लाका ७० वटा सहकारी संस्था नवीकरण छन् । १ सय २० वटा सहकारी दर्ता भएपनि ७० वटा मात्रै नवीकरण भएका र बाँकी धेरै संस्था बन्द भइसकेका नविकरण नभएका संघले जनाएको छ ।
संघमा नवीकरण भएकामध्ये शनिबार ६८ वटा सहकारीले मात्रै मतदानमा भाग लिएका थिए । संघको १३ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गएको पुस २१ गते नै ईश्वरपुरस्थित श्रीनगरमा उद्घाटन भएको थियो । बन्दसत्रमा नेतृत्वका लागि सहमती हुन नसकेपछि शनिबार मतदान भएको थियो । अध्यक्षमा निर्वाचित आचार्य नेत्रगन्ज बचत तथा ऋण सहकारी संस्था लालबन्दी नगरपालिका १ नवलपुरको अध्यक्ष हुन भने उनले प्रतिस्पर्धी हरेन्द्र राउतलाई ९ मतले पराजित गरेकी हुन । आचार्यले ३९ मत ल्याउँदा उनका प्रतिस्पर्धी राउतले ३० मत मात्रै प्राप्त गरेका छन् । खसेकोमध्ये १ मत बदर भएको छ ।