दुर्गा कुमारी अधिकारी
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका स्थित लालबन्दी बजार क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका ६ र ७ स्थित लालबन्दी बजार क्षेत्रमा सडक विस्तारको काम तिब्रगतिमा भएको हो ।
लालबन्दी नगरपालिका ६ स्थित जनवादी चोक स्थित बेतिनी पुलदेखि लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे पुलसम्मको मुख्य बजार क्षेत्रको सडक फराकिलो पार्ने काम चलिरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सुरज निर्माण सेवा रौतहटमार्फत राजमार्ग विस्तारको काम भइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख दागोरा प्रसाद साहले जानकारी दिए । उनका अनुसार राजमार्गमा अहिले कालोपत्रे रहेको भागबाट दायाँबायाँ तीन–तीन मिटर चौँडा बढाएर कालोपत्रे गर्न अहिले बेस बिछ्याउने काम भइरहेको छ ।
चैत्र महिनाभित्र लालबन्दी बजार क्षेत्रको करिव एक हजार चार सय मिटर राजमार्गको दायाँबायाँ कालोपत्रे थपिसक्ने गरी काम भइरहेको सउडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कार्यालयका सुपरभाइजर पुण्यप्रसाद खतिवडाले बताए । उनका अनुसार जिल्लाको सबैभन्दा ठूलो व्यापारिक केन्द्रको रुपमा रहेको लालबन्दी बजारमा पूर्व–पश्चिम राजमार्गमा कालोपत्रेको भाग थोरै हुँदा समस्या रहँदै आएको गुनासो आएपछि सडकलाई चौडा बनाउने काम भएको हो ।
राजमार्ग विस्तारपछि पैदलयात्रीलाई पैदल हिँड्न र सवारी साधन ओहोरदोहारमा सहजता हुने अपेक्षा गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । लालबन्दी बजार क्षेत्रको राजमार्गमा हाल कालोपत्रेको भाग छ मिटर मात्रै छ । दायाँबायाँ प्रशस्त ठाउँ रहेको क्षेत्रमा तीन–तीन मिटर र थोरै ठाउँ रहेको क्षेत्रमा दुईदेखि अढाई मिटरसम्म सडक बढाउने काम भइरहेको सडक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
त्यस्तै जिल्लाको बागमती नगरपालिका स्थित पर्ने पुर्व पश्चीम राजमार्गमा सडक चौडा बनाउने काम सकिएको र हरिवनमा पनि सडक चौडा बनाउने काम जारी रहेको छ ।