शंखर पहाडी(गौरब)
सर्लाहीका २० वटा स्थानीय तह मध्य १२ वटा स्थानीय तहमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय छैन्न । जिल्लामा ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेकामा छ वटा नगरपालिका र छ वटा गाउँपालिकामा दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत नरहेका हुन ।
११ वटा नगरपालिका मध्य मलंगवा,लालबन्दी,इश्वरपुर,हरिवन र हरिपुर्वामा दरबन्दी अनुसार उप सचिव नै प्रमुख प्रशासकीय अधिकृत रहेका भएपनि बागमती,बलरा,गोडैता,कविलासी,हरिपुर र बरहथवा नगरपालिकामा शाखा अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालले खटाएको हो ।
स्थानीय स्वायत शासन सञ्चालन ऐन २०७४ अनुसार कुनै पनि स्थानीय तहले निमित्त कर्माचारी राख्न नपाउने भएपनि जिल्लाका अधिकांश स्थानीय तह निमित्त कर्मचारीको भरमा सञ्चालनमा रहेका छन् ।
उपसचिवको दरबन्दी भएका नगरपालिकाहरुमा शाखा अधिकृत र शाखा अधिकृतको दरबन्दी रहेका गाउँपालिकाहरुमा प्रविधितर्फका कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर नगरपालिका तथा गाउँपालिकाका प्रशासनीक कार्य भई रहेका छन् ।
उपसचिवको दरबन्दी रहेका बागमती,बलरा,गोडैता,कविलासी र हरिपुर नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काममा खटाएको छ ।
बागमती नगरपालिकामा उपसचिवको दरबन्दी भएपनि उप सचिव नआएपछि शाखा अधिकृत विमल कुमार पोखरेल,बलरा नगरपालिकामा शाखा अधिकृत उमेश महतो,गोडैता नगरपालिकामा प्राविधिक इन्जिनियर रमेशप्रसाद यादव,कविलासी नगरपालिकामा उदय प्रसाद देवकोटा र हरिपुर नगरपालिकामा मन्त्रालयले शाखा अधिकृत दिवाकर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । यी स्थानीय तहमा उपसचिवको दरबन्दी रहेको भएपनि शाखा अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
त्यस्तै मन्त्रालयले बरहथवा नगरपालिकामा शिक्षाका उपसचिव मदनकुमार थापालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । जिल्लाको मलङ्गवा नगरपालिकामा उपसचिव गेहनाथ गौतम,लालबन्दी नगरपालिकामा उपसचिव तारानाथ लुइँटेल,ईश्वरपुर नगरपालिकामा उपसचिव हिराकाजी श्रेष्ठ,हरिवन नगरपालिकामा उपसचिव सुरेन्द्र प्रधान र हरिपुर्वा नगरपालिकामा उपसचिव वसन्त न्यौपाने दरबन्दीअनुसार नै प्रमुख प्रशासकीय अधिकृतक रहेका हुन ।
उपसचिवको दरबन्दी रहेका ११ नगरपालिकामध्ये पाँच वटा नगरपालिकामा दरबन्दी अनुसार नै उप सचिवलाई खटाईएको भएपनि छ वटा नगरपालिकामा शाखा अधिकृतहरु प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिएका हुन ।
२० स्थानीय तहहरु मध्य नौ वटा गाउँपालिका रहेको जिल्लामा चन्द्रनगर,चक्रघट्टा र ब्रम्हपुरी गाउँपालिकमा मात्र शाखा अधिकृतले जिम्मेवारी पाउनुभएको छ भने छ वटा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्राविधिक शाखाका कर्माचारीहरु प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिएका छन् ।
चन्द्रनगर गाउँपालिकामा शाखा अधिकृत मदन थिङ,ब्रम्हपुरी गाउँपालिकामा शैलेश कुमार राय र चक्रघट्टा गाउँपालिकामा संजिव कुमार यादव दरबन्दी अनुसार नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको छ भने बसबरीया गाउँपालिकामा आयुर्वेदका चुनचुन प्रसाद यादव,रामनगर गाँउपालिकामा आयुर्वेदकै कृष्णकुमार साह,कौडेना गाउँपालिकामा स्वास्थ्यका शम्भुप्रसाद यादव,धनकौल गाउँपालिकामा स्वास्थ्यका कृष्णप्रसाद साह,विष्णु गाउँपालिकामा स्वास्थ्यका संजिव कुमार सापकोटा र पर्सा गाउपालिकामा अधिकृत छैटौँ सुरेशकुमार यादवलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका सङ्घका उपसचिव तथा शाखा अधिकृत स्थानीय तहमा आउन नमानेका कारण धेरै स्थानीय तहमा प्राविधिक तर्फका इन्जिनियर,शिक्षा अधिकृत,स्वास्थ्य शाखा,कृषि र भेटेनरी शाखाका कर्माचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतक भएर काम गरि रहनु भएको छ । मधेश प्रदेशका अधिकांश स्थानीय तहहरुमा राजनैतिक दवावमा काम गर्नु पर्ने भएकाले प्राय प्रमुख प्रशासकीय अधिकृतहरु आउन न मान्ने गरेका कर्माचारी मिलान केन्द्र सर्लाहीका अध्यक्ष राम नरेह रायले बताए ।
उनका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा पठाएका धेरैजसो प्रशासकीय अधिकृत मन्त्रालयमा नै बस्दा जिल्लामा मात्र नभई देशैभरीका धेरै स्थानीय तहहरुमा यस प्रकारको समस्या रहेको छ ।
मधेश प्रदेशका अधिकांश स्थानीय तहहरुमा काम गर्दा नगर प्रमुख तथा गाउँपालिका अध्यक्षले भने अनुसारको काम गर्नुपर्ने र भने अनुसारको काम नगर्दा डर÷धम्की आउने गरेका कारण पनि प्रशासकीय अधिकृतहरू आउन नचाहने गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार स्थानी तहहरुमा ऐन,कानुन भन्दा पनि जनप्रतिनिधिहरुलाई खुसी पार्नुपर्ने बाध्यता भएका कारण अधिकृत नबस्ने समस्या आएको हो ।
जनप्रतिनिधिहरुले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा आफू अनुकूल चल्ने पठाउन मन्त्रालयलाई दबाब दिने गरेका गुनासो बढ्न थालेको विश्लेषक रजनीकान्त झाको भनाइ छ । जिल्लाका दक्षिणी भेगका धेरै स्थानीय तहहरुमा राजनीति खिचातानीकै कारण अधिकृत नबस्ने गरेका पाइएको छ ।कर्मचारी भर्ना,योजना छनोट,शाखा प्रमुखको जिम्मेवारी तोक्दा जनप्रतिनिधिले आफू अनुकूलको हुनुपर्नेमा दबाब दिने गरेका कारण आफुहरु समस्या पर्ने गरेको प्रमुख प्रशासकीय अधिकृतहरुको गुनासो छ ।