शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा नेपाली नयाँ वर्ष नजिकिएसंगै आन्तरीक पर्यटकहरुको घुँइचो लागेको छ । संघिय भु उपयोग नीति अनुसार खेर गएको बागमती नदीको उकास जमिनलाई आन्तरीक आयसंग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको भरत तालमा नेपाली नयाँ वर्ष नजिकिएसंगै आन्तरीक पर्यटकहरुको घुँइचो लाग्न थालेको तालका व्यावस्थापक सन्तोष गदालले बताए ।
उनका अनुसार २०७५ सालबाट ताल निर्माणको काम सुरु भएको भएपनि हाल सम्म डिपिआरको करिब २५ प्रतिशत मात्रै काम सकिएको छ । ताल पुर्ण रुपमा निर्माण सम्पन्न हुँदा करिब रु दुई अर्व लागत लाग्ने अनुमान गरिएको ताल निर्माणको काममा हाल करिब रु ७५ करोड खर्च लागेको व्यावस्थापक गदालले बताए ।
दक्षिण यसिया कै सबै भन्दा ठुलो मानवनिर्मित तालमा निर्माण कै चरणमा ३१ वटा साना र एउटा ठुलो गरी ३२ वटा ढुङ्गा हाल सञ्चालनमा रहेका बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक सय एक बिघामा पानी र २० बिघामा रोड,मिनि नेपालको चित्र,बगैँचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माण कै क्रममा करिब २० लाख आन्तरकि पर्यटकहरुले अवलोकन गरी सकेका छन् ।
नगरको विकासको गौरवको रुपमा निर्माण सुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि रोड बनाउनु,बगैँचा बनाउन र नगर भित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको बागमती नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण कुमार लामाले बताए । उनका अनुसार नगरपालिकाको आन्तरीक आयस्रोत र स्थानीयलाई रोजगारी सृजना गर्ने योजनाका साथ ताल निर्माणको काम भएको हो ।
“तालमा पानी भरे लगतै दैनिक पाँच सय आन्तरीक पर्यटकहरु आउने अपेक्षा गरिएको भएपनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो।सोचेभन्दा धेरै पर्यटकहरू आउन थाले । ” बागमती नगरपालिका ४ का वडा अध्यक्ष लामाले बताए ।
“सुरूमा नगरपालिकाले सर्लाही र रौतहटको मात्रै जनसंख्या सोचेर वार्षिक १६ लाख पर्यटक लक्षित गरेको थियो। त्यति मात्र आउँदा पनि यो आयोजना सफल हुन्छ भन्ने विश्वास थियो। भारतको बिहार क्षेत्रबाट पनि सोचेभन्दा ठूलो संख्यामा पर्यटक आउन थाले”बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।
उनका अनुसार अहिले यो ताल निर्माणाधीन अवस्थामै छ। एक हजार चार सय मिटर लम्बाइको यो तालको हालसम्म सात सय मिटरमा पानी जम्मा भएको छ। बाँकी सात सय मिटरमा पनि पानी जमाउने योजना रहेको नगर प्रमुख थापाले बताए । नगर प्रमुख थापाका अनुसार तालमा अहिले करिब १८ लाख घनमिटर पानी जम्मा भएको छ।
सोली आकारमा बनाइएको तालको बीच भागमा ७० फिट गहिरो छ। वरपर बाटोसहित एक सय २१ विघा जग्गामा ताल निर्माण हुने बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले बताईन
।उनका अनुसार“ताल वरिपरि मिनी क्यासिनो सहितको सुविधा सम्पन्न होटल,नगर बगैँचा,चिल्ड्रेन पार्क,पिकनिक स्पोर्टस,सुटिङ्ग स्पोर्टस र सुमेरी पर्वत बनाउने योजना रहेको छ ।”
तालको वरपरको जग्गालाई पनि सौन्दर्यीकरण गरेर धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोख्रेलले बताए । उनका अनुसार अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई सही ढंगले व्यवस्थापन गर्न सकि रहेको छैन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई कम्तीमा दुई दिन अड्याउने गरी ताल वरपर सौन्दर्यीकरण गरिने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए । ताल नजिकै जंगल सफारी सहितको चिडियाखानाको डिपिआर बन्दै गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै महादेव र पार्वतीको मूर्तिसहित छुट्टै धाम निर्माण गर्ने योजना रहेको नगर प्रमुख थापाले बताए ।यहाँ आउने धेरैजसो पर्यटक हिन्दु धर्मावलम्बी भएका कारण पनि आकर्षण बढ्ने विश्वास नगरपालिकाले राखेको छ।“पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई पनि उत्तिकै महत्वका रूपमा हिन्दुहरूले लिने गरेका छन्। पशुपति पुग्न नसक्नेहरू यहीँ आउँदा पशुपति पुगेको महशुस हुने गरी हामी सम्पदा विकास गर्दैछौं”नगर प्रमुख थापाले बताए ।
तालका देखिनेभन्दा नदेखिने फाइदा धेरै हुनेछन्। यसले संस्कृति जगेर्ना हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ। तालको पानीले सिँचाइमा पनि सघाउ पुग्नेछ। तालबाट जमिन रिचार्ज भएर माटो उर्बर बनाउँने र वातावरणलाई पनि सन्तुलनमा ल्याउँने नगरपालिकाले विश्वास लिएको छ।
“हामी त पानीमा हुने सबै जीव यहाँ राख्ने सोचमा छौं। डल्फिन पनि राख्ने हाम्रो योजना छ,’ नगर प्रमुख थापाले बताए । पार्किङदेखि नयाँ ढंगको पिकनिक स्पोट पनि रहन्छ। तर पिकनिक जाँदा भाँडाकुँडा र त्रिपाल बोकेर जानु पर्दैन। यहाँ टेबल र कुर्सी हुनेछन्। भान्सा र पसल हुनेछ। डिजेसहित संगीतको पनि व्यवस्था गरिनेछ। आफैं सामान ल्याउँछु भन्नेले ल्याउन पाउनेछन्।”नगर प्रमुख थापाले बताए ।
ताल छिमेकी मुलुक भारतबाट नजिकै भएकाले त्यहाँबाट ठूलो संख्यामा पर्यटक भित्र्याएर आम्दानी गर्न सकिने नगर प्रमुख थापाको तर्क छ। भारतबाट ४२ किलोमिटरको दुरीमा भरत ताल पर्दछ । पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटर भित्र रहेको यो ठाउँ प्रयोगबिहीन थियो। त्यसपछि बागमती नगरपालिकाभित्र वन क्षेत्र कति छ,खेतीयोग्य जमिन कति छ,नागरिक कति छन्, त्यसमा पनि सम्पन्न,विपन्न र सुकुम्बासीहरू कति छन् र बागमती नगरपालिकाभित्र प्रयोगबिहीन जमिन कहाँ छ भन्ने अध्ययन सुरू गरेर संघिय भु उपभोग नीति अनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण सुरु गरेको र तालको विचमा पहिलै गहिरो रहेका कारण ताल नै निर्माणको चरणमा रहेको नगर प्रमुख थापाले बताए ।
यो ठाउँमा २०२८ सालमा बागमती बग्थ्यो। त्यसपछि त्यहाँ बगर बनेको थियो। दायाँबायाँको जग्गा २०६२÷०६३ को जनआन्दोलन कै समयमा अतिक्रमण भयो। धेरै नागरिकले भोगचलन गरिरहेका थिए।उक्त क्षेत्रका वास्तविक सुकुम्बासी र भूमिहीनहरूको पहिचान गरेर करिब सात हजार तीन सय घरधुरी सुकुम्बासी र भुमिहिनहरुलाई व्यवस्थापन गरियो। उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठा सम्म जग्गा वितरण गरिएको नगरप्रमुख थापाले बताए ।
अर्को ठाउँमा जग्गा भएका नागरिकलाई नगरपालिकाले आफ्नै ठाउँमा फिर्ता पठाएर करिब अढाई सय बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखेको थियो। त्यही जमिन कसरी सदुपयोग गर्ने भन्ने सोच्दा सोच्दै तालको अवधारणा सुरू भएको नगर प्रमुख थापाले सुनाए । उनका अनुसार तालमा गएको वर्षादेखि पानी जम्न थालेको हो।
सुरूमा त्यहाँ ताल बन्छ भन्ने कुरामा कसैले विश्वास गरेका थिएनन्। विज्ञहरूलाई देखाउँदा पनि बगरमा ताल सम्भव नभएको प्रतिक्रिया पाएको नगर प्रमुख थापाले बताए । त्यसपछि नगरपालिकाले सम्भाव्यता अध्ययन ग¥यो। ताल निर्माणका लागि बजेट भएन। सोच बनाएर टेन्डर आह्वान गर्दा पनि स्रोतको टुंगो नरहेको उनको भनाई छ ।
“असल नियतले राम्रो काम गरिसकेपछि स्रोत जुट्ला नि भन्ने आश राख्यौं। नजुटे सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा बनाउनुपर्छ भन्ने सोचेर आयोजना सुरू गरेका थियौं” नगर प्रमुख थापाले बताए ।त्यसपछि विशेष अनुदान योजना आयोगमा तथा प्रदेश सरकारबाट रकम ल्याएर नगरपालिकाले आयोजना अघि सारेको हो। नगरपालिकाले यहीँका नागरिकसँगको सहकार्यमा कम खर्चमा गुणस्तरीय ताल निर्माण सुरु गरेको नगर प्रमुख थापाको दाबी छ।
“हामीलाई धेरैले बालुवामा ताल कसरी सम्भव छ भनेर प्रश्न गरेका थिए,हामीले आँट ग¥यौं। सफल पनि भयौं”उनको भनाई छ । यतिको काममा सफलता मिलेपछि थप काम गर्न ऊर्जा मिलेको उनको भनाई छ । आयोजनाको सबै काम सकिएपछि पर्यटक अझ बढ्ने र राजश्व पनि धेरै संकलन हुने नगर प्रमुख थापाको विश्वास छ। दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका थापाले आफ्नो यो दोस्रो कार्यकालको पाँच वर्षभित्र सबै काम सक्ने विश्वास व्यक्त गरे ।