गणेश खड्का
कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरोकारवालाहरुको छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सरोकारवालाबीच कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका सम्वन्धमा छलफल भएको हो ।
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले छिमेकी मुलुक भारत लगायत विभिन्न देशमा कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण पुनःबढिरहेको र नेपालमा समेत उक्त भेरिएन्ट बढ्दो क्रममा रहेको सन्दर्भमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न सार्वजनिक आब्हान गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका संयोजक यादवले बताए ।
उनका अनुसार कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण रोकथाम एवम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न–गराउन स्थानीय तह,जिल्लास्थित स्वास्थ्य कार्यालय, गैर सरकारी संघ÷संस्थाहरुको समन्वयमा स्थानीय सञ्चार माध्यामहरुबाट सूचनामूलक प्रचार सामग्रीहरु तयार गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने,प्रादेशिक अस्पताल मलंगवामा आवश्यकता परेको बखत एच डी यू बेड संचालनमा ल्याउने गरी तयारी अवस्थामा राख्ने,बुस्टर डोजको लागि खोप उपलब्ध गराइदिन सम्वन्धित निकायमा माग गरी लेखी पठाउने,खुला सीमा नाकामा हुने आवतजावतलाई मध्यनजर गरी चेकजाँचमा कडाई गर्ने,स्वास्थ्यकर्मीहरुको तलब भक्ताको व्यवस्था गरी सेवा करारमा दक्ष जनशक्तिको व्यवस्था गर्न सम्वन्धित निकायहरुसँग समन्वय गर्नेलगायतका निर्णय भएका छन् ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह,उपप्रमुख जितेन्द्रकुमार महतो, स्वास्थ्य कार्यालय तथा प्रादेशिक अस्पतालका प्रतिनिधि,सुरक्षा अधिकारी र अन्य सरोकारवालाको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।