चन्द्रनगरले सुरु गर्यो नाढीमन ताल संरक्षणको काम,

2k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले पर्यटकीय नाढीमन तालको मर्मत सम्भार सुरु गरेको छ । चन्द्रनगर गाउँपालिकाले तालको  वरिपरि रहेको डिलका साथै तालमा भरिएको माटो निकाली मर्मत सम्भारको काम सुरु गरेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राम कुमार महतोले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले क्षतिग्रस्त भएर भत्किएको अवस्थामा रहेको नाढीमन तालको पानी सुकेको भागको माटो निकाल्ने र डिलको मर्मत सम्भारको लागि काम सुरु गरेको हो । गाउँपालिकाले नजिकिँदै गरेको नेपाली नयाँ वर्षको अवसरमा आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न तालको सरसफाईका साथै मर्मत सम्भारको काम सुरु गरेको चन्द्रनगर गाउँपालिकाकी उपाअध्यक्ष गीता देवी महतोले जानकारी दिइन् ।
उनका अनुसार गाउँपालिकाको सहयोग र सक्रियतामा नाढीमन तालको सरसफाई र क्षतिग्रस्त डिलको मर्मत सम्भारले तालको सौन्दर्यिकरण र व्यवस्थापन गर्न दीगो रुपमा सहज हुनेछ ।
नाढीमन तालको संरक्षण,सम्वद्र्धनले आन्तरिक तथा वाह्य पर्यटक बढ्नुका साथै ऐतिहासिक तालको संरक्षण हुने गाउँपालिकाले जनाएको छ । प्राकृतिक नाडीमन ताल करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको भएपनि अहिले करिब ३० बिघा क्षेत्रफलमा मात्रै सिमित भएको छ ।
गाउँपालिकाको प्रशासनिक भवनका साथै स्थानीय बजार र स्थानीयले दिनप्रतिदिन अतिक्रमण गर्दा तालको क्षेत्रफल साँघुरिएको स्थानीय शिवनारायण कुर्मीले बताए । उनका अनुसार छुट्टै ऐतिहाँसिक महत्व बोकेको नाडीमन ताल दिनप्रतिदिन अतिक्रमण हुँदा त्यहाँ रहेका ढुंङ्गाहरु अलपत्र थन्किएका छन् भने ताल फोहोरले भरिएको छ । यता, तालको नापजाँचको काम भई रहेको र अतिक्रमित क्षेत्र चाँडै खाली गराउने गाउँपालिका अध्यक्ष महतोले बताए ।

सम्बन्धित समाचार