गणेश खड्का
सर्लाहीको सव डिभिजन वन कार्यालय घारी र बाँके अन्र्तगत रहेका जङ्गल क्षेत्रमा वन्यजन्तुलाई पानी पिउन सहज बनाउन भन्दै विभिन्न स्थानमा पानी भरिएका ड्रम राखिएको छ ।‘वनस्पती जोगाऔँ,वन्यजन्तुको संरक्षण गरौँ’भन्ने मूल नाराका साथ फूलजोर चोकदेखि बाँके चोकसम्मको जङ्गलमा वन्यजन्तुका लागि पानी पिउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
पछिल्लो समय मानिस विकसित भएपछि वनस्पति र जनावरलाई बेवास्ता गरिरहेको अवस्थामा यि दुवैलाई संरक्षण गर्ने उद्देश्यसहित वन्यजन्तुलाई पानी पिउने प्रवन्ध मिलाइएको ईश्वरपुर सचेत नागरिक समुहका अगुवा प्रमोद बरालले बताए । उनका अनुसार इश्वरपुर ५ को फूलजोरदेखि बाँकेसम्म पुर्व पश्चीम राजमार्गको छेउमा पानी भरिएका ड्रम राखेर जङ्गली जनावरलाई पानी पिउने व्यवस्था मिलाएको हो ।
दिनप्रति दिन वन विनास हुँदै गएकाले वनभित्र पानीको स्रोत सुक्न थालेपछि जीवजन्तु पानीको खोजीमा मानव बस्तीतर्फ पसिरहेको अवस्थामा डिभिजन वन कार्यालय सर्लाही,सागरनाथ वन विकास परियोजना सर्लाही र स्थानीय तहसंगको समन्वयमा फूलजोरदेखि बाँकेसम्म पुर्व पश्चीम राजमार्गको छेउमा पानी भरिएका ड्रम राखेर जङ्गली जनावरलाई पानी पिउने व्यवस्था मिलाएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार फूलजोरदेखि बाँकेसम्मको जंगल क्षेत्रको ठाउँ–ठाउँमा आधा काटिएको ड्रममा पानी भरेर राखिएको र जसका कारण जंगली जनावरहरु पानी खोज्न गाउँ बस्ती नपस्ने अनुमान गरिएको छ । यसबाट सारोकारवालाहरुका साथै स्थानीयबासीलाई पनि जंगल विनासले समस्या निम्त्याउँदो रहेछ भन्ने थाहा होस र वनभित्रै पानीको स्रोत व्यवस्थापन गर्न सबैको ध्यानाकर्षण होस भन्ने अपेक्षा सहित जंगल क्षेत्रको ठाउँ–ठाउँमा आधा काटिएको ड्रममा पानी भरेर राखिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख डिभिजन वन अधिकृत अहमद्ले बताए । । बाँके जङ्गल क्षेत्र वन्यजन्तुको बढी ओहोरदोहोर र बासस्थान हुने जङ्गल भएकाले पनि सोही क्षेत्रलाई लक्षित गरेर जंगल क्षेत्रको ठाउँ–ठाउँमा आधा काटिएको ड्रममा पानी भरेर राखिएको हो ।